साउन २८
आज नेपालभर औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूको माध्यमबाट अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। राजधानीको टुँडिखेलदेखि गाउँ–गाउँका विद्यालय, युवा क्लब र सामुदायिक सभासम्म युवाको सक्रियता देखिए पनि, दीर्घकालीन नीति कार्यान्वयनमा सुस्त गतिले यो उत्साहलाई स्थायित्व दिन सकेको छैन।
नेपाल सरकारले यो दिवसलाई आधिकारिक मान्यता दिँदै मनाउन थालेको करिब २० वर्ष भइसकेको छ। तर, युवाको जीवनस्तर उकास्ने ठोस योजना र कार्यान्वयन अभावका कारण रोजगारी, उद्यमशीलता र प्रविधि–सीपको पहुँच जस्ता मुद्दा अझै समाधानको प्रतीक्षामा छन्।
वैदेशिक रोजगार विभागका तथ्याङ्कअनुसार, हरेक वर्ष सात लाखभन्दा बढी युवा रोजगारीको खोजीमा विदेशिन्छन्। यो संख्या पछिल्ला पाँच वर्षयता स्थिर होइन—उल्टै बढ्दो क्रममा छ। पढाइका लागि विदेशिने युवाको लहर पनि तीव्र छ, जसले स्वदेशमा मानव संसाधनको क्षय र “ब्रेन ड्रेन” समस्या थप गहिरो बनाएको छ।
युवा जनसांख्यिकीको सुनौलो मौका २०७८ को जनगणना अनुसार, १६–४० वर्ष उमेर समूहका युवाको संख्या करिब १ करोड २४ लाख पुगेको छ—यो कुल जनसंख्याको ४२.५६ प्रतिशत हो। विज्ञहरू भन्छन्, “यो जनसांख्यिक लाभ सुनौलो अवसर हो, तर प्रयोग गर्न नसके जोखिमको कारक बन्छ।”
राजनीति र नेतृत्वमा उपस्थिती संघीय संसदमा हाल १२ प्रतिशत, प्रदेश सभामा २० प्रतिशत, र स्थानीय तहमा ४१ प्रतिशत जनप्रतिनिधि युवा छन्। नेतृत्वमा यो उपस्थिती सकारात्मक संकेत भए पनि, नीति निर्माण प्रक्रियामा उनीहरूको निर्णायक भूमिका अझै सीमित छ।
सरकारले ‘युवा स्वरोजगार कोष’, ‘राष्ट्रिय युवा नीति २०७२’ र ‘युथ भिजन २०२५’ जस्ता पहल सुरु गरेको छ। तर, ७५३ स्थानीय तहमध्ये केवल १६ मा मात्र नगर/गाउँ युवा परिषद् गठन हुनु र ६५ मा मात्र युवा सञ्जाल स्थापनाले नीतिगत पहुँच र कार्यान्वयन बीचको दूरी स्पष्ट देखाउँछ। प्रदेश स्तरमा लुम्बिनी, बागमती र सुदूरपश्चिम बाहेक अन्य प्रदेशहरूमा परिषद गठन हुन बाँकी छ।
अन्तर्राष्ट्रिय युवा दिवसको बीजारोपण सन् १९९८ अगस्ट ८–१२ मा पोर्चुगलको लिस्बनमा भएको विश्व युवा सम्मेलनबाट भएको हो, जसमा १४० देशका युवा मामिला मन्त्री सहभागी थिए। सम्मेलनले ८८ बुँदे ‘लिस्बन घोषणापत्र’ जारी गर्दै प्रत्येक राष्ट्रमा युवा नीति निर्माणको प्रतिवद्धता जनायो। सन् २००० देखि यो दिवस औपचारिक रूपमा मनाउन थालियो। नेपालमा भने सन् २००४ देखि विभिन्न युवा संघ–संस्थाहरूको पहलमा यसलाई राष्ट्रिय कार्यक्रमको रूपमा स्थापित गरियो
२०८२ को दिवस ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि : डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ नारासहित मनाइँदैछ। यस सन्दर्भमा, डिजिटल सीप तालिम, स्टार्टअप प्रदर्शन, ई–उद्यम मेला, वृक्षारोपण, रक्तदान र सांस्कृतिक गतिविधिहरू देशभर भइरहेका छन्

