भदौ १२ जुम्ला
जुम्ला–कालिकोट सडक खण्ड अन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोला स्थित भासिएको सडक मर्मत भएसँगै अवरुद्ध राजमार्ग संचालन भएको छ । कालेखोलामा सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको हो । सडकमा ढुङ्गा राखेर साना र ठुला सवारी साधान आवत जावत गर्ने बनाईएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताउनु भयो ।
उहाँका अनुसार, भासिएको सडक मुनिबाट पर्खाल उठाउने वा रक फुटाउने विषयमा छलफल भइरहेको छ । ठुला सवारी साधन जोखिम मोलेर आउजाउ गर्ने अवस्था रहेको उहाँले जानकारी गराउनु भयो । १० मिटर जति सडक भासिएकोले तत्काल निर्माण कार्य गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
सडक भासिएका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ठुला मालबाहक ट्रकबाहेक अन्य गाडी आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक रावतका अनुसार हिजो नै इन्जिनियरहरूको टिम सडक निर्माणको लागि कालिकोट पुगिसकेको थियो । भासिएको सडकको मुनिदेखि पर्खाल उठाउनु पर्ने भएका कारण सडक निर्माणमा केही दिन लाग्न सक्नेछ । यात्रु आवत जावत गर्न अहिले समस्या नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

