जुम्ला । नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिले आउँदो निर्वाचनलाई केन्द्रमा राख्दै प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा सदस्यतर्फ गरी कुल २२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीभित्र व्यापक छलफल र तय गरिएका मापदण्डका आधारमा उम्मेदवार छनोट गरिएको जनाइएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस जुम्लाले चार जनालाई उम्मेदवारका रूपमा अघि सारेको छ। जसमा पार्टीका जिल्ला सभापति कर्णबहादुर शाही, पूर्व सांसद कान्तिका सेजुवाल, कांग्रेसका नेता पूर्णप्रसाद आचार्य तथा खड्गबहादुर सेजुवाल रहेका छन्। यी नेताहरू लामो समयदेखि पार्टी संगठन र जनप्रतिनिधिका रूपमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत १४ जनाको नाम सिफारिस सूचीमा समावेश गरिएको छ। यस सूचीमा पूर्व मन्त्री दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्द शाही, पुरिचन्द्र देवकोटालगायत विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने व्यक्तिहरूलाई समेटिएको छ। पार्टीले समावेशीता र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राख्दै नाम सिफारिस गरेको जनाएको छ।
त्यसैगरी राष्ट्रिय सभातर्फ कर्णाली प्रदेश कांग्रेस सभापति ललितजङ्ग शाही, पूर्व राज्यमन्त्री भक्तबहादुर रोकायासहित चार जनाको नाम सिफारिस गरिएको छ। राष्ट्रिय सभाका लागि अनुभवी र पार्टीप्रति योगदान पुर्याएका नेताहरूलाई प्राथमिकता दिइएको बताइएको छ।
जिल्ला कार्यसमिति सदस्य महेन्द्र कार्कीका अनुसार पार्टीभित्रको आन्तरिक छलफल, कार्यसम्पादन क्षमता, राजनीतिक योगदान तथा समावेशी प्रतिनिधित्वका आधारमा उम्मेदवारहरूको नाम टुंग्याइएको हो। सिफारिस गरिएको सूची पार्टी केन्द्रमा पठाइसकिएको र अन्तिम निर्णय भने केन्द्रीय समितिबाट हुने उनले जानकारी दिए।

