पुस ३ जुम्ला
इन्सेक जुम्लाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतिसम्बन्धी घटनाहरूको वार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लामा घटेका १६ वटा मानव अधिकारसम्बन्धी घटना सार्वजनिक गरिएका छन् । इन्सेक जुम्लाका जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार सार्वजनिक सम्पत्ति तोडफोड, महिला अधिकार उल्लङ्घन, बलात्कार, घरेलु हिंसा, जातीय विभेद, स्वास्थ्य अधिकार, शिशु तथा आमाको मृत्यु, जेन्जी आन्दोलन, स्याउ बिमा लगायतका घटनाहरू संकलन गरिएको हो ।
पछिल्ला दुई वर्षको अवधिमा पीडितलाई कानुनी प्रक्रियामा जानका लागि १० जनालाई इन्सेकले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । हिमा र तातोपानी बाहेकका स्थानीय तहका पीडितलाई कानुनी प्रक्रियामा जान सहयोग गरिएको रावलको भनाइ छ । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग जिल्ला शाखा जुम्लाकी प्रमुख कल्पना नेपाल (आचार्य)ले आयोगले निष्पक्ष रूपमा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो ।
पहुँचविहीन वर्गका लागि अझ सक्रिय भएर काम गरिरहेको उल्लेख गर्दै उहाँले मानव अधिकारको क्षेत्रमा इन्सेकले राम्रो भूमिका खेलेको बताउनु भयो । जुम्लामा महिला हिंसाका घटना बढी हुने गरेको उल्लेख गर्दै उहाँले महिलालाई दोस्रो दर्जाका रूपमा नहेर्न आग्रह गर्नुभयो । मानव अधिकारका दृष्टिले सबै नागरिक समान हुने उहाँको भनाइ छ । यस्तै, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मीले बाल विवाहका घटना प्रहरीसम्म कमै पुग्ने गरेको बताउनु भयो ।
उहाँका अनुसार बाल विवाह हुन लागेको सूचना प्रहरीलाई आए पनि समुदायले उजुरी दिन नमान्ने अवस्था रहेको छ । उजुरी नआएसम्म प्रहरीले आफैँ खोजी नगर्ने बाध्यता रहेको र मानव अधिकारसँग सम्बन्धित विषयमा प्रहरीले गम्भीर रूपमा अनुसन्धान गर्ने उहाँले बताउनु भयो ।

