सिँजा (जुम्ला), साउन २६
पछिल्ला वर्षहरूमा कुल कृषि उत्पादन घट्दो क्रममा रहे पनि जुम्लाबाट बाहिरी जिल्लामा जाने कृषिउपजको मात्रा र मूल्य दुवै बढेका छन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट करिब २३ हजार टन कृषिउपज निर्यात भई ६९ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ।
निर्यात हुने सूचिमा स्याउ पहिलो स्थानमा छ। त्यसपछि मार्सी चामल, ओखर, सिमी, कोदो लगायतका रैथाने उपज पर्छन्। बजार पहुँच, सडक सञ्जालको विस्तार र सञ्चार सुविधामा सुधारसँगै व्यापार सहज भएको भए पनि भण्डारण, प्रशोधन केन्द्रको अभाव र मूल्यको स्थायित्व अझै चुनौतीका रूपमा उभिएको अधिकारीको भनाइ छ।
गत वर्ष मात्रै जुम्लाबाट ९ हजार ३३१ टन स्याउ बाहिर पठाइयो, जसको मूल्य ६६ करोड ६१ लाख रुपैयाँ पुगेको थियो। अन्य उपजमा २,५९० किलो ओखर, ५५ हजार ८०९ किलो सिमी, २,९१३ किलो भटमास, ९० हजार ६६० किलो आलु, ११ हजार ५५५ किलो मार्सी चामल, ९५० किलो चिनो, ७९० किलो कागुनो, ६ हजार १५० किलो फापरको पिठो, १६ हजार ४०० किलो कोदोको पिठो र १० हजार ४५० किलो जौको पिठो पर्दछन्।
जुम्लामा हाल २,७४० हेक्टरमा कोदो खेती हुन्छ। २०८१/८२ मा ३,८५० टन कोदो उत्पादन भयो, जुन नेपालकै औसत उत्पादन (१.३४ टन/हेक्टर) भन्दा बढी १.४१ टन/हेक्टर रहेको छ। यद्यपि, धान उत्पादन भने निरन्तर घटिरहेको छ। २०७९ सालको भीषण बाढीले करिब १८ हेक्टर मार्सी फाँट नष्ट भएपछि त्यसको प्रभाव अझै देखिएको छ।
फापर, मकै, उवा, चिनो, कागुनो जस्ता अन्य रैथाने अन्नबालीको उत्पादन पनि घटेको तथ्यांक छ। २०८१/८२ मा कुल २४ हजार २३१ टन रैथाने बाली उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ८ हजार टनले कम हो। २०८०/८१ मा ३२ हजार ८४५ टन र २०७९/८० मा ३० हजार ८२८ टन उत्पादन भएको थियो।
यद्यपि, स्याउ उत्पादन भने लगातार बढ्दो छ। २०७८/७९ मा १६ हजार टन, २०७९/८० मा १८ हजार टन, २०८०/८१ मा १९ हजार ८४० टन र २०८१/८२ मा २१ हजार २७० टन स्याउ उत्पादन भएको छ—यो चार वर्षयताकै उच्च हो। गत आर्थिक वर्षमा मात्र स्याउ बिक्रीबाट करिब ६१ करोड रुपैयाँ आम्दानी भएको कृषि विकास कार्यालयले जनाएको छ

