पुस २५ जुम्ला
नेकपा एमालेले कालिकोट जिल्लाका मिनवहादुर शाहीलाई प्रचार संयोजकको जिम्मेवारी दिएको छ । नेकपा एमालेले चुनाव केन्द्रीत अस्थायी कार्य विभाजन गरेको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसम्मको अस्थायी कार्य विभाजन गर्दा मीनबहादुर शाहीलाई प्रचार कामको संयोजन गर्ने जिम्मेवारी दिइएको हो ।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चका निवर्तमान अध्यक्ष शाही सामुदायिक रेडियोका अभियान्ता समेत हुनुहुन्छ । उहाँ हाल सामुदायिक रेडियो विश्व संघका सहअध्यक्ष समेत हुनुहुन्छ । दुई कार्यकाल सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को केन्द्रीय अध्यक्ष रहनु भएका शाहीले एक जिल्ला एक सामुदायिक रेडियो अभियान चलाउनु भएको थियो ।
साथै उहाँ राष्ट्रिय योजना आयोगको प्रवक्ताका रुपमा काम समेत गरि सक्नु भएको छ । नेकपा एमालेको देशभर सञ्चालन हुने हुने प्रचार–प्रसारका कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाउने, पार्टीको नीति, सिद्धान्त र उपलब्धिलाई आम नागरिकसम्म पु¥याउने तथा संगठन विस्तारमा सक्रिय भुमिका खेल्ने अपेक्षासहित शाहीलाई जिम्मेवारी दिइएको हो ।
प्रचार संयोजकका रूपमा उहाँले पार्टीका विभिन्न तहबीच समन्वय गर्ने, स्थानीय मुद्दालाई केन्द्रमा राखेर प्रचार सामग्री तयार गर्ने र सामाजिक सञ्जाल तथा परम्परागत माध्यम मार्फत पार्टी सन्देश प्रवाह गर्ने काम गर्नु हुने छ । शाही लामो समयदेखि एमालेको संगठन निर्माणमा क्रियाशील रहँदै आएको बताउँदै उहाँको अनुभव, क्षमता र प्रतिबद्धतालाई मध्यनजर गर्दै प्रचार संयोजकको जिम्मेवारी नेकपा एमालेले सुम्पिएको हो ।
नयाँ जिम्मेवारी पाएपछि प्रतिक्रिया दिदै शाहीले पार्टीले दिएको विश्वास र जिम्मेवारीलाई इमान्दारिता पूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । पार्टीको निर्देशन अनुसार संगठन मजबुत बनाउने र जनतासँगको सम्बन्ध अझ सुदृढ गर्ने उहाँको भनाइ छ । एमालेले पछिल्लो समय कालिकोटसहित कर्णाली प्रदेशका जिल्लाहरूमा संगठन विस्तार र जनसम्पर्कलाई प्राथमिकतामा राख्दै आएको छ ।

