साउन ४ जुम्ला
आकास सुनार
कर्णाली प्रदेशका गाउँघरमा धामीको नाच अहिले पनि जीवित सांस्कृतिक परम्परा हो । साउन, भदौ, कार्तिक, माघ, वैशाख र असार पूर्णिमामा विशेष रूपमा धामी नाच देखिन्छ । धामी नाच केवल मनोरञ्जन वा नृत्य मात्र होइन, यो धार्मिक विश्वास, समाजको ऐक्यबद्धता र परम्परागत उपचार पद्धतिसँग पनि गहिरोसँग जोडिएको छ ।
धामीले झ्याली र ढोलक बाजा बजाउँदै विशेष मन्त्र बोल्ने र नाच्ने गर्दछन् । यसरी नाच्दा गाउँलेहरू विश्वास गर्छन् कि देवीदेवता प्रसन्न हुन्छन् र रोगब्याधि टर्छ । यही कारणले कर्णालीमा आधुनिकता र प्रविधिले धेरै कुरा बदल्दै लगे पनि धामी नाचको परम्परा भने अझै यथावत् छ । यसले कर्णालीको मौलिक संस्कृति बचाई राख्न ठुलो भूमिका खेलेको छ ।
गाउँबस्तीमा धामीप्रतिको पुरानो विश्वास अहिले पनि कायमै छ । कुनै समय गाउँमा धामी नै पहिलो डाक्टर मानिन्थे । घरमा विरामी परे वा अन्य समस्या आए सबैभन्दा पहिले धामी कहाँ पुगेर हेराउने चलन थियो । अहिले पनि यो परम्परा ज्यूँका त्यँु छ । गाउँका धामीहरूलाई श्रद्धाका साथ सम्मान गर्ने परिपाटी अझै कायम रहेको गुठिचौर–४ का रातो धामीले बताउनु भयो ।
घरमा समस्या भए वा सपना नराम्रो देखे पनि धामी हेराउन आउने चलन कायमै रहेको उहाँको भनाइ छ । यसैगरी, चन्दननाथ नगरपालिका–६ छिना गाउँका बाबिरा मष्टोका धामी अमर बहादुर थापाका अनुसार बच्चा नभएका दम्पतीदेखि विरामी बच्चा लिएर आउने, नयाँ घर बनेपछि पुजा गर्ने, विवाहको लगन माग्ने जस्ता कामका लागि धेरै मानिस धामीकहाँ पुग्ने गरेको बताउनु भयो ।
उहाँले दैनिक २५ जना भन्दा बढी मानिसलाई हेराई दिने गर्नु भएको छ । अहिले पनि स्वास्थ्य संस्था पुग्नु अघि धामी कहाँ पुग्ने चलन कायमै छ । यद्यपि पछिल्लो समय धामीहरूले पनि गम्भीर अवस्थाका बिरामीलाई स्वास्थ्य संस्थामा लैजान सुझाउने गरेका छन् ।
हरेक गाउँमा रहेका थान (मन्दिर) मा पुगेर पुकार गर्ने चलनले पनि धामी प्रतिको आस्था अझै मजबुत देखिन्छ । आधुनिक स्वास्थ्य सेवा विस्तार भइरहे पनि जुम्लामा धामी–झाँक्रीप्रतिको विश्वास र सम्मान यथावत छ । धामी झाँक्री प्रथाले जुम्ला लगायत कर्णालीका गाउँघरमा गहिरो जरा गाडेको छ ।
पुस्तौँ देखिका परम्परा, संस्कार र धार्मिक मान्यता उनीहरूसँग गाँसिएका छन् । धामी कहाँ जाँदा मानिसलाई आफ्ना समस्याको समाधान हुने र पिडा कम हुने गरेको स्थानीय टंक शरण आचार्यले बताउनु भयो । घरमा फलेको नयाँ अन्न देउताका नाममा चढाए पछि खाने चलन रहेको उहाँको भनाइ छ ।
धामीले मन्त्र, तान्त्रिक विधि र विश्वासको माध्यमबाट मानिसको मनोबल बढाउने गरेका छन् । स्वास्थ्य संस्था टाढा भएका गाउँमा पहिले–पहिले धामी नै सबै रोगको उपचार गर्ने आधार थिए । अहिले पनि तत्काल डाक्टर नपुग्दा गाउँलेहरु पहिले उनीहरूकैमा पुग्छन् । धामी–झाँक्रीको चलनले स्थानीय कला, गीत, नृत्य र रीतिरिवाज जगेर्ना गर्न मद्दत गरेको छ ।

