आकास सुनार
साउन ११ जुम्ला
कृषि बिकास कार्यालय जुम्लाले एक सूचना जारी गर्दै काँचो स्याउ नटिप्न आग्रह गरेको छ । जुम्लाका किसान र व्यापारीलाई भदौ १५ गतेअघि स्याउ नटिप्न, नबेच्न वा ढुवानी नगर्न आग्रह गरेको हो । जिल्ला समन्वय समिति जुम्लाले २०८२ साउन २ गतेको समिक्षा बैठकमा निर्णय गर्दै स्याउ पुरै पाकेपछि मात्र बिक्री गर्न अनुरोध गरेको छ ।
काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र पौष्टिकता सबैमा असर पर्ने जनाउँदै, दीर्घकालीन ब्रान्ड र बजार मूल्यमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस्तो सूचना जारी गरिएको कृषि बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी बताउनु भयो ।
उहाँका अनुसार, “अर्गानिक खेतिमा वृद्धि, कर्णालीको समृद्धि” भन्ने नाराका साथ, अब जुम्लाको स्याउलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने तयारी सहित गुणस्तरीय व्यवस्थापनको अभियान सुरु गर्नु सबैको दायित्व हो । त्यसैले भदौ १५ गते भन्दा पछि स्याउ टिप्न कार्यालयले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्ला र पालिकाहरूलाई काँचो स्याउको बिक्री र ढुवानीमा रोक लगाउन अनुरोध गरिएको अधिकारीको भनाइ छ ।
स्याउ उत्पादन र खेतीयोग्य क्षेत्रको हिसाबले नेपालकै अगाडि रहेको जुम्ला जिल्लामा दीगो विकास, वातावरणीय सन्तुलन तथा आम्दानीको प्रमुख स्रोतको रुपमा स्याउलाई मानिदै आएको छ । पछिल्ला वर्षहरूमा यस जिल्लाको स्याउ गुणस्तर, स्वाद तथा पौष्टिकताका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत माग बढिरहेको छ ।
यस्तो मागलाई मध्य नजर गर्दै जुम्लाका सबै स्थानीय तहले आफ्ना पालिका लाई स्याउ टिप्न नदिनको लागि रोक लगाउनु पर्ने कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको निर्णयको पालना गर्दै सम्बन्धित सबै पालिकाहरूलाई काँचो स्याउ टिपेर विक्री गर्नमा रोक लगाउन तथा ढुवानीका लागि सिफारिस नदिन अनुरोध गरिएको अधिकारीले बताउनु भयो ।

