माघ १९ जुम्ला
नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाले निर्वाचन रणनीति तयार गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लामा काँग्रेसका उम्मेदवार दीप बहादुर शाहीलाई जिताउन विशेष चुनावी रणनीति तयार गरेको हो । आगामी निर्वाचनमा पार्टीका पक्षमा बहुमत ल्याउन संगठन सुदृढीकरण र जन सम्पर्क विस्तारको पक्ष जोड दिने कांग्रेसले निर्णय गरेको छ । कांग्रेसले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रुपमा सादगी नेता दीप बहादुर शाहीलाई उम्मेदवारका रुपमा उठाएको छ ।
दुई पटक तत्कालिन गाविस अध्यक्ष भईसक्नु भएका शाही जनतासँग प्रत्यक्ष रहेर काम गरिरहेकाले आफ्नो जित हुने दाबी गर्नु भयो । कांग्रेसको आईतबार बसेको बैठकले गाउँ गाउँमा रहेको काँग्रेसको संगठन सुदृढीकरण, जनसम्पर्क व्यापक विस्तार, कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ ।
जनसम्पर्क विस्तार तथा संगठन सुदृढीकरण बिना चुनावी नतिजा प्राप्त गर्न कठिन भएकाले जनसम्पर्कलाई कांग्रेसले प्रामिकता दिएको हो । विशेष महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित रामदेवी खड्काले जिउदो सहिदका रुपमा रहनु भएका दीप बहादुर शाहीलाई जुम्लाका न्यायप्रेमी जनताले अमुल्य मत दिने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीका सबै शुभेच्छुक संगठनहरुको सुदृढीकरणमा समेत जोड दिएर जुम्लामा कांग्रेसलाइ पहिलो बनाउने कसरतमा काँग्रेस छ । नेपाली कांग्रेस जिल्ला सभापति कर्णबहादुर शाहीले नेपाली कांग्रेस यस पटकको निर्वाचनमा विजयी हुने बताउनु भयो । जुम्लामा २०७० सालपछिको विरासत पुन कायम गर्ने गरी संगठन सुदृढीकरण तथा जनता भेटघाट बढाउने उहाँको भनाइ छ ।

