माघ २२ जुम्ला
नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार–प्रसार अभियानलाई आक्रामक रूपमा अघि बढाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसले गाउँ–गाउँ केन्द्रित अभियान सञ्चालन गर्दै दुई दिनमै दुई दर्जनभन्दा बढी गाउँमा चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ । पार्टीले जुम्ला जिल्लाका विभिन्न स्थानीय तहमा एकैसाथ प्रचार अभियान सञ्चालन गर्दै संगठन परिचालनलाई तीव्र बनाएको हो ।
मंगलबार मात्रै नेपाली कांग्रेसले जुम्लाका ११ स्थानमा चुनावी कार्यक्रम सम्पन्न गरेको छभने बुधबार गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा चुनाव केन्द्रित कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाका अनुसार पार्टीले यसपटक घरदैलो, चुनावी सभा तथा प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको बताउनु भयो । मतदातासँग प्रत्यक्ष भेटेर पार्टीको नीति, उम्मेदवारको भूमिका र भावी योजनाबारे जानकारी गराउने उद्देश्यले प्रचार अभियानलाई तीव्र बनाईएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेस जुम्लाका सचिव लक्ष्मणबहादुर शाहीका अनुसार मंगलबार हिमा गाउँपालिकाका सातवटा वडा, पातारासी गाउँपालिकाको वडा नम्बर २ र ६ तथा गुठिचौर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा चुनावी प्रचार–प्रसार कार्यक्रम गरिएको बताउनु भयो । ती स्थानहरूमा आयोजना गरिएका सभामा स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको कांग्रेसको दाबी छ । त्यस्तै, बुधबार गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न बस्ती तथा टोलहरूमा चुनाव केन्द्रित कार्यक्रम गरिएको छ ।
कार्यक्रममा उम्मेदवार, पार्टीका नेता तथा कार्यकर्ताले विकास, रोजगारी, सडक, स्वास्थ्य र शिक्षाजस्ता विषयलाई मुख्य एजेन्डा बनाएर मतदातासँग संवाद गरेका छन् । कांग्रेसले बिहीबार पातारासी, तिला र कनकासुन्दरी गाउँपालिकाका विभिन्न स्थानमा पनि चुनावी सभा तथा भेटघाट कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । आगामी दिनमा जिल्लाका बाँकी वडाहरूमा समेत प्रचार अभियानलाई थप सशक्त बनाउने योजना रहेको पार्टीले जनाएको छ ।
यस निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पार्टीका पूर्व सभापति तथा निष्ठावान नेता दीपबहादुर शाही प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ । लामो समयदेखि जिल्लाको राजनीतिमा सक्रिय रहँदै आउनु भएका शाहीलाई कांग्रेसले अनुभवी र जनआधार भएको उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ ।
जुम्लाका आठ स्थानीय तहमध्ये छवटा स्थानीय तहमा हाल कांग्रेसको नेतृत्व रहेको छ । स्थानीय तहको निर्वाचनमा प्राप्त जनमतलाई आधार मान्दै कांग्रेसले यसपटक प्रतिनिधि सभा निर्वाचनमा पनि बलियो पकड बनाउने रणनीति लिएको छ । जिल्लामा जनआधार मजबुत रहेको र संगठनात्मक संरचना सक्रिय भएकाले कांग्रेस निर्वाचन जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको पार्टी नेताहरूको भनाइ छ ।

