भदौ २१ जुम्ला
गुठिचौर गाउँपालका– ५ मा रहेको कालिका आधारभुत विद्यालयले ६२ औँ वार्षिकत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । विद्यालय स्थापना भएको अवसरमा वार्षिकत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकत्सव तथा अभिभावक दिवसका अवसरमा प्रधानाध्यापक कर्ण वहादुर खत्रीले विद्यालयको भौतिक अवस्था र आय व्यय प्रस्तुत गर्नु भएको छ ।
उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा आय तर्फ ४६ लाख ७ हजार २ सय ७० रुपैयाँ र व्ययतर्फ ४३ लाख ७२ हजार २ सय ३७ रुपैयाँ रहेको उल्लेख छ । यस्तै बैँकमा २ लाख ३६ हजार ३३ रुपैयाँ मौज्दात रहेको खत्रीले बताउनु भयो । शिक्षक दरबन्दि अन्तर्गत ५ जना स्थायी, निमावि अनुदान १ र बालबालिकास सहजकर्ता ३ जना कार्यरत रहेको छन् ।
कक्षा १ देखि ८ सम्म संचालित विद्यालयमा १ सय ३४ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक खत्रीले बताउनु भयो । उहाँका अनुसार, सामुदायिक विद्यालयमा विपन्न र जेहेन्दार विद्यार्थीको उपस्थित ९० प्रतिशत भन्दा बढी रहेको जानकारी गराउनु भयो । सामुदायिक विद्यालय प्रति हेर्ने नजर सकरात्मक भएमा शिक्षाको गुणस्तर सुधार गर्न सकिने उहाँको भनाइ छ ।
यस्तै गाउँपालिका अध्यक्ष दानवहादुर बुढाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नको लागि आन्तरिक स्रोतबाट शिक्षक व्यवस्थापन गरिएको बताउनु भयो । विद्यालय प्रति अभिभावकको सहभागिता न्युन हुने विषय प्रति लक्षित गर्दै उहाँले वृद्धि गराउन सुझाव दिनु भएको छ । सामुदायिक विद्यालयमा गरिब, विपन्न तथा सिमान्तकृत समुदायका बालबालिका मात्रै अध्ययन गर्छन भन्ने भाष्यलाई चिर्न अनुरोध गर्नु भएको छ ।
सबैका बालबालिका अध्ययन गर्ने पवित्र मन्दिरका रुपमा सामुदायिक विद्यालयलाई विकास गरिनु पर्ने अध्यक्ष बुढाले बताउनु भयो । यस्तै उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) ले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
शिक्षक, जनप्रतिनिधि, निजामति कर्मचारी र अन्य अभिभावकाका बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गर्ने वातावरण सबै मिलेर सृजना गर्नु पर्ने उहाँको भनाइ छ । शिक्षक पेशाप्रति बफदार लगनशिल र इमान्दार भएको खण्डमा शैक्षिक अवस्था सुधार हुन्छ । आधारभुत विद्यालयले गरेको प्रगति प्रति उहाँले विद्यालय परिवारलाई धन्यावद दिनु भएको छ ।
यस्तै, वडा नम्बर ५ का वडाध्यक्ष कमल महत, वडा नम्बर ४ का वडाध्यक्ष टिकादत्त न्यौपाने, वडा नम्बर १ का वडाध्यक्ष अर्जुन कुमार महतारा, निवर्तमान वडाध्यक्ष चन्द्र नेपाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्त महत र शिक्षाका अन्य सरोकारवाला निकायले वार्षिकत्सव तथा अभिभाव दिवसका अवसरमा शुभकामना मन्तव्य राखेका छन् ।
वार्षिकत्सव तथा अभिभावक दिवसमा विभिन्न साँस्कृतिक प्रस्तुतिका साथै विधागत प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत विद्यालयले प्रदान गरेको छ ।

