जुम्ला । कृषि जैविक विविधता तथा रैथाने खाद्य परिकार प्रदर्शनी मेला चन्दननाथ नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ । स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त मेलामा १२ वटा स्टलहरू राखिएका थिए । मेलामा जुम्लामै उत्पादन भएका अर्गानिक कृषि उपज तथा रैथाने खाद्य परिकारहरू प्रदर्शनीमा राखिएको आयोजकले जानकारी दिएको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जुम्लामा उत्पादन हुने अर्गानिक वस्तुको महत्व आम नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार रैथाने खाद्य परिकारको उत्पादन, उपयोग र प्रयोग विधिबारे जानकारी दिनु मेलाको मुख्य उद्देश्य रहेको छ । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन मिल्नुका साथै उपभोक्तालाई स्वस्थ र पोषणयुक्त खाद्य सामग्रीप्रति आकर्षित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

धौलीगाड कृषि सहकारी संस्थाका कर्ण जैशीले लोप हुन लागेका स्थानीय अर्गानिक खाद्य वस्तुहरूको संरक्षण अपरिहार्य रहेको बताउनुभयो । जुम्लामा उत्पादन गरिएका कृषि उपजहरूको संकलन र व्यवस्थित बजारीकरणको व्यवस्था गर्न सके किसानको आयआर्जन बढ्ने उहाँको भनाइ छ । हाल धौलीगाड कृषि सहकारी संस्थाले विद्यालयका दिवा खाजाका लागि अर्गानिक कृषि वस्तु संकलनमा सहयोग गर्दै आएको जानकारी पनि उहाँले दिनुभयो ।

रिजानका प्रदेश संयोजक विमला सुवेदीले स्थानीय रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । विद्यालयमा वितरण गरिने दिवा खाजामा जंक फुडको सट्टा जुम्लामै उत्पादन हुने अर्गानिक वस्तुलाई प्राथमिकता दिनु पर्ने उहाँको जोड थियो । रैथाने बाली सामाजिक, सांस्कृतिक तथा वातावरणीय पक्षसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेकाले यसको संरक्षण आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले खाद्य वस्तुको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउँदै जुम्लामा उत्पादन गरिएका अर्गानिक वस्तुको विश्व बजारमा समेत माग रहेको जानकारी दिनुभयो । त्यसैले यस्ता रैथाने बालीको उच्च गुणस्तर कायम गर्दै उत्पादन र प्रशोधनमा ध्यान दिनुपर्ने उहाँको धारणा छ ।
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले आयातित खाद्य वस्तुलाई निरुत्साहित गर्दै स्वदेशमै उत्पादन हुने अर्गानिक वस्तुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता प्रदर्शनी मेलाले स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउनुका साथै किसान र उपभोक्ताबीचको सम्बन्ध सुदृढ बनाउने उहाँको भनाइ छ ।

प्रदर्शनी मेलामा सहभागी किसान, सहकारी तथा उपभोक्ताहरूले यस्ता कार्यक्रम निरन्तर रूपमा आयोजना गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार रैथाने बाली र अर्गानिक उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

