जुम्ला
जुम्लाको चन्दनाथ नगरपालिका –३ द्वारा आयोजना गरिएको खुला फुटबल प्रतियोगिता आइतबार भव्य रूपमा सम्पन्न भएको छ।
जिल्लाका विभिन्न ठाउँका ४४ टिम सहभागी बनेको प्रतियोगिता कार्तिक ३ गतेदेखि निरन्तर जारी थियो। खेलकुदप्रति स्थानीय युवाको उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले जुम्लामा खेलप्रेमीहरूको ठूलो भीड आकर्षित गरेको थियो।
सेमिफाइनल चरणमा चन्दननाथ–३, फोइकालिका एफसी, घोघेसिम र जनसेवा युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो। जनसेवा युवा क्लबले फोइकालिका एफसीलाई ०–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने घोघेसिमलाई ०–२ गोलले पछि पार्दै लगातार उत्कृष्ट प्रदर्शन गरेको थियो।
फाइनलमा चन्दननाथ–३ र जनसेवा युवा क्लबबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो। निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा जनसेवा युवा क्लबले ५–६ गोल गर्दै उपाधि जितेको हो।
खेल अवलोकनका लागि स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा ठूलो संख्यामा दर्शक उपस्थित थिए। विजयी टोली जनसेवा युवा क्लबलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ।

