जुम्ला । लगातारको वर्षासँगै गगने खोलामा खसेको पहिरो पन्छाएपछि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। पहिरोले सोमबार बिहानदेखि राजमार्ग अवरुद्ध हुँदा सवारी साधन रोकिनुका साथै यात्रुहरू घण्टौँसम्म बाटोमै अलपत्र परेका थिए।
डिभिजन सडक कार्यालय र सुरक्षाकर्मीको पहलमा डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै मंगलबार बिहानदेखि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो। राजमार्ग खुलेसँगै जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पाका लागि छुटेका बस, ट्रक र जीपहरू गन्तव्यतर्फ लागेका छन्।
यात्रुहरूले बाटो खुलेसँगै लामो समयको सास्ती अन्त्य भएको भन्दै राहत महसुस गरेका छन्। तर अझै पनि वर्षा रोकिएको छैन। पानी परिरहेकाले फेरि पनि पहिरो खस्ने जोखिम कायमै रहेको र सावधानीपूर्वक यात्रा गर्नुपर्ने सम्बन्धित निकायले आग्रह गरेको छ।
कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूलाई राजधानी र तराईसँग जोड्ने मुख्य राजमार्गमा वर्षायाममा पटक–पटक अवरोध हुने समस्या दोहोरिँदै आएको छ। स्थानीयवासीले पहिरो प्रभावित क्षेत्रमा स्थायी समाधान खोज्न सरकारसँग माग गर्दै आएका छन्।

