जुम्ला — एक समय पर्यटकीय सम्भावनाको प्रतीक मानिने गुठिचौर उपत्यका अहिले अन्धाधुन्ध दोहन र अव्यवस्थित विकासका कारण सौन्दर्य गुमाउँदै छ। हरियालीले ढाकिएको, कचौराजस्तो फैलिएको यो उपत्यका पछिल्ला वर्षमा आन्तरिक पर्यटकको प्रिय गन्तव्य बन्दै आएको थियो। तर, अवैध गिट्टी–बालुवा उत्खनन्, डाँडापाखामा डोजरको अनियन्त्रित प्रयोग र चुरे क्षेत्रको दोहनले गुठिचौरको प्राकृतिक रूपान्तरण अब कुरुपतामा बदलिँदै छ।
उपत्यकाको वरिपरिका डाँडामा सडक विस्तार र अन्य निर्माणको नाममा जथाभावी ढुंगा–माटो निकालिएको छ। प्रवेशद्वारकै भीर भत्काइएपछि सामान्य वर्षामा समेत पहिरोको लेदो उपत्यकामा बग्ने गरेको छ। उपत्यकाको जलप्रवाह अन्तिम बिन्दुमा समेत निर्माण व्यवसायीले अवैध रूपमा नदीजन्य वस्तु संकलन गरिरहेका छन्, जसले यहाँको जैविक र भौगोलिक संरचनालाई खतरा निम्त्याएको छ।
गुठिचौर गाउँपालिकाले एकातिर यहाँ व्यावसायिक प्याराग्लाइडिङ र पर्यटन हव निर्माणको सपना देखाइरहेको छ, तर अर्कोतर्फ प्राकृतिक स्रोत र पर्यावरण संरक्षणमा आवश्यक कदम चाल्न असफल भइरहेको छ। स्थानीय तहकै निष्क्रियता र निर्माण व्यवसायीको लोभ–लालचले प्राकृतिक सम्पदामा क्षति पुर्याइरहेको छ।
मानवअधिकारकर्मी मानदत्त रावलका अनुसार, “गुठिचौरको मौलिक सौन्दर्य, यसको भर्जिनिटी, असावधानीपूर्वक विकासका कारण हराउँदै गएको छ। डोजरले पाखा भत्काउँदा दीर्घकालीन रूपमा माटो कटान र भू–क्षय बढ्ने छ, जसको असर पर्यटन, कृषि र पशुपालन सबै क्षेत्रमा देखिनेछ।”
उपत्यकाभित्र बग्ने खोलाबाट गिट्टी–बालुवा संकलन खुलेआम भइरहेको छ। यो क्षेत्र केवल पर्यटकीय गन्तव्य मात्र नभई स्थानीयको आर्थिक मेरुदण्ड हो—गर्मीमा गाई–भैंसी, भेडा, घोडा लगायतका पशुचौपाय चरणे मुख्य मैदान यही हो। तर, दोहन यस्तै दरमा बढे, केही वर्षमै चरनक्षेत्रको अभाव गम्भीर संकट बन्दै जाने चेतावनी विशेषज्ञहरूले दिएका छन्।
पछिल्लो वर्षातमा उत्खनन् त रोकिएको छ, तर पहिले खनिएका डाँडाबाट बग्ने लेदोले उपत्यकाको उर्वर जमिन नै धम्क्याइरहेको छ। दुई वर्षअघि गुठिचौर घुम्न आएकी कर्णालीकी पर्यटक प्रवद्र्धक सिर्जना सिज्जुले हालैको भ्रमणपछि चिन्ता व्यक्त गर्दै भनिन्—“पहिलेको हरियाली, सफा र मनमोहक गुठिचौर अहिले माटोको धुलो र कटानले बिग्रँदै गएको छ।”।
सडक, भवन र पूर्वाधार निर्माणका बहानामा अन्धाधुन्ध स्रोत दोहन रोक्ने जिम्मेवारी पाएको स्थानीय सरकार नै जब मुकदर्शक बन्छ, प्राकृतिक सम्पदा संरक्षणको आश टुट्छ। गुठिचौर उपत्यकामा भइरहेको अवैध उत्खनन् रोक्न, यहाँको जैविक विविधता जोगाउन र पर्यटन सम्भावना पुनःजागृत गर्न अब तत्काल र कठोर कदम आवश्यक देखिन्छ।
फोटो स्रोत :विक्रम तिरुवा सलिन

