भदौ १५ जुम्ला
साविक कर्णाली अंचलकै पहिलो चन्दननाथ माध्यमिक विद्यालय ६३ औँ वर्षमा प्रवेश गरेको छ । शनिबार विद्यालयले ६३ औँ वार्षिकत्सव तथा अभिभाव दिवस भव्यताका साथ मनाएको छ । जिल्लामा रहेका सामुदायिक विद्यालय मध्ये पछिल्लो समय विद्यार्थीको रोजाइमा पर्ने प्रमुख शैक्षिक गन्तव्यका रूपमा विद्यालय स्थापित भएको छ । प्रधानाध्यापक टंकबहादुर महतको नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याएपछि विद्यार्थीहरूको आकर्षण बढेको हो ।
हाल यस विद्यालयमा १ हजार ५ सय ८९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको आन्तरिक आय मात्रै १ करोड ५६ लाख २४ हजार ६५ रुपैयाँ रहेको छ । यसले गर्दा पनि चन्दननाथ माध्यमिक विद्यालय अन्य विद्यालयको तुलनामा बलियो छ भन्ने आधार स्पष्ट देखिन्छ । विद्यालयको आम्दानिको प्रमुख स्रोत भनेको टहरा हो ।
टहराबाट मात्रै मासिक ४ लाख जति आम्दानि हुने गरेको छ । विद्यालयको वार्षिक कुल आम्दानी ५ करोड २९ लाख ८१ हजार ९ सय ३६ रूपैयाँ बराबरको आयव्ययको विवरण प्रधानाध्यापक महतले प्रस्तुत गर्नुभयो । पछिल्ला दिनहरूमा विद्यालयले आफ्ना शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा सुधार गर्दै उत्कृष्ट विद्यालयका रुपमा काम गर्दै आएको छ ।

वि.सं. २०२० सालमा स्थापना भएको विद्यालयले प्लसटु तर्फ शिक्षा, मानविकि, विज्ञान विषयमा पठनपाठन गर्दै २०७३ बाट अँग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । यस्तै वि.स. २०७४÷०७५ बाट सिटिईभिटि अन्तर्गत ३ बर्षे बालि बिज्ञान र बन बिज्ञानका कक्षा समेत संचालन गरिएको महतले बताउनु भयो ।
प्लसटु तर्फ वि.स. २०७८ साल देखि कानुन बिषय र वि.स. २०८० साल देखि लेखा विषयको पनि पठनपाठन गर्दै आएको प्रधानध्यापक महतले बताउनु भयो । विद्यालयको ६३ औँ वर्षगाँठको अवरमा चन्दननाथ नगरपालिका वडा नम्बर ५ का स्वर्गीय अदनसिंह कठायतको शालिक अनावरण गरिएको छ ।
बुबा कालुसिंह कठायत र आमा मोतिपुरा कठायतको कोखबाट वि.स. १९८१ असार १३ गते जन्मिनु भएका कठायतलको शालिक

अनावरण गरिएको हो । उहाँकै भाई तिलकसिंह कठायतल र छोरा तथा चन्दननाथ नगरपालिका जुम्लाका नगर प्रमुख राजुसिंह कठायतले शालिक अनावरण गर्नु भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुष्ण बहादुर रोकायाले विद्यालयको प्रतिको बढ्दो आकर्षणलाई व्यवस्थित गर्ने चुनौति थपिएको बताउनु भयो । सडकमा पुगेको विद्यालय जुम्ला जिल्लाकै नमूना बनाउने दृढ संकल्पका साथ विद्यालय अघि बढेको उहाँको भनाइ छ । वार्षिकत्सव तथा अभिभावक दिवस समारोहमा विभिन्न विधामा सहभागि विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । साथै साँस्कृति कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए ।

