मङ्सिर ५ जुम्ला
जयरत्न कर्णाली बोर्डिङ स्कुल जुम्लाले विद्यार्थीले निर्माण गरेका विविध विज्ञान सामग्रीहरूको प्रदर्शन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका मोडल तथा प्रयोगात्मक सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो । निजी विद्यालयले आयोजना गरेको यस प्रकारको विज्ञान सामग्री प्रदर्शनले विद्यार्थीको उत्साह र सिर्जनशीलता बढाएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल योगीले विद्यार्थीहरूले विभिन्न वैज्ञानिक उपकरण तथा मोडल बनाइ प्रस्तुत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अभिभावकको सक्रिय सहभागितासहित प्रदर्शनी सम्पन्न भएको हो । विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा अभिभावक, विद्यार्थी तथा स्थानीयको उपस्थिति रहेको विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि निजि तथा आवासीय विद्यालय (प्याप्सन) का अध्यक्ष टासी दोन्डुप लामा रहनु भएको थियो । प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विभिन्न कलात्मक, जीवन उपयोगी, परम्परागत तथा आधुनिक सामग्री प्रदर्शन गरिएका थिए । प्रदर्शनीमा ड्रोन, थ्री–डी होलोग्राम, पेरिस्कोप, स्मार्ट सिटी मोडेल सहितका धेरै आकर्षक मोडल राखिएका थिए ।
विद्यार्थीहरूले सीप, नवप्रवर्तन र वैज्ञानिक सोच अभिवृद्धि गर्ने उद्देश्यले सामग्री निर्माण गरेको विद्यालयले जनाएको छ । प्रिन्सिपल अमरनाथ योगीका अनुसार यस प्रदर्शनीले विद्यार्थीको आत्मविश्वास वृद्धि गर्नका साथै अभिभावक तथा समुदायको सहभागिता पनि उल्लेखनीय रह्यो । कार्यक्रममा जनता मावि, कर्णाली मावि, रत्नचुडेश्वर मावि, बिलिभर्स स्कुल लगायतका विद्यालयका विद्यार्थी र शिक्षकहरूले समेत सहभागिता जनाएका थिए ।


