पुस १४ जुम्ला
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला जलवायु संवेदनशील जिल्ला मध्ये एक हो । जुम्लामा रहेका हिमतालहरूको हिउँ पग्लिदै जानु, अनियमित वर्षा, पानीको अभाव र खाद्य असुरक्षा जस्ता समस्याले यहाँको जनजीवनमा गम्भीर असर पारिरहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषले जुम्लामा जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्ने उद्देश्यसहित “कर्णाली प्रदेशका वन तथा वनमा निर्भर समुदायहरूको जीविकोपार्जन र क्षमता सुदृढीकरण मार्फत जलवायु उत्थानशीलता” परियोजना सञ्चालन गर्न लागेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक तथा जलवायु परिवर्तन विभाग प्रमुख डा. मनिषराज पाण्डेका अनुसार यो परियोजना जुम्लासहित डोल्पा, जाजरकोट र दैलेख जिल्लाका ३१ वटा स्थानीय तहमा सञ्चालन हुने बताउनु भयो । उहाँले जलवायु परिवर्तन सबैको साझा समस्या भएकाले यसको न्युनिकरणका लागि सामुहिक प्रयास आवश्यक रहेको बताउनु भयो । पाण्डेका अनुसार जलवायु परिवर्तनको असर वन क्षेत्रमा बढी देखिएको छ ।
त्यसैले वनमा आधारित जीविकोपार्जन गर्ने समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ । जोखिममा परेका तथा सिमान्तकृत समुदायलाई केन्द्रमा राखेर परियोजना अघि बढाइने उहाँको भनाइ छ । चार वर्षसम्म सञ्चालन हुने यस परियोजनामा करिब १० मिलियन अमेरिकी डलर खर्च हुने छ । जसमा ०.७ मिलियन अमेरिकी डलर सहलगानी रहनेछ । बेलायत सरकारको सहयोगमा सञ्चालन हुने परियोजनाले जलवायु अनुकूलन लक्षित कार्यक्रमहरूमा विशेष जोड दिने पाण्डेले जानकारी दिनुभयो ।
परियोजनाको लक्ष्य कर्णाली प्रदेशलाई “जलवायु सक्षम प्रदेश” तर्फ उन्मुख गराउनु हो । जलवायु जोखिममा रहेका समुदायको उत्थानशीलता सुदृढीकरण, स्थानीय नेतृत्वमा आधारित जलवायु कार्यको प्रवद्र्धन, समावेशी तथा दिगो अनुकूलन र जीविकोपार्जन प्रवद्र्धन गर्ने परियोजनाका उद्देश्य रहेको छ ।
साथै, परियोजनाले क्षयीकरण भएको वन क्षेत्रको पुनस्र्थापना गर्ने लक्ष्य पनि राखेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वातावरण तथा सामाजिक सुरक्षा विज्ञ कृष्णप्रसाद घिमिरेका अनुसार चारवटा जिल्लाका ८ लाख ६१ हजार हेक्टर क्षेत्रफलमा परियोजना कार्यान्वयन हुनेछ । परियोजना सञ्चालनपछि वन क्षयीकरण घट्ने, कार्बन उत्सर्जन न्युनीकरणमा १० प्रतिशत र अनुकूलन क्षमतामा ९० प्रतिशत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जुम्लाका सबै स्थानीय तहमा जलवायु परिवर्तनको असर लगभग समान रूपमा देखिएको बताउनु भयो । वनमा आधारित जीविकोपार्जन गर्ने समुदाय जलवायु परिवर्तनबाट बढी प्रभावित भएको उहाँको भनाइ छ । जलवायु परिवर्तनको असर कम गर्न जुम्लाका सबै स्थानीय तहले हातेमालो गरेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । जुम्ला र समग्र कर्णाली प्रदेशका लागि जलवायु उत्थानशीलताको नयाँ परियोजनाले आशा जगाएको छ ।

