मंसिर १ जुम्ला
चौधौँ राष्ट्रिय कर दिवसको अवसरमा जुम्लाका व्यवसायी देउऋषि चौलागाँई सम्मानित हुनु भएका छ । कैलास जनरल स्टोरका सञ्चालक समेत रहनु भएका चौलागाँईलाई बढी कर दाखिला गरेबापत सम्मान गरिएको हो । आन्तरिक राजश्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले उहाँलाई लगायत कालिकोट र मुगुका व्यवसायीलाई पनि सम्मानपत्र प्रदान गर्नु भएको छ ।
चौलागाँईले २०४८ सालदेखि व्यापारिक व्यवसाय सुरु गर्नु भएका उहाँको व्यवसायमा करिब ३० वर्षको अनुभव रहेको छ । आन्तरिक राजश्व कार्यालयले प्रदान गरेको सम्मानले व्यवसाय गर्न थप प्रेरणा मिलेको उहाँले बताउनुभयो । यस अघि २०७७ सालमा पनि उहाँ सम्मानित हुनु भएको थियो । लगातारको सम्मानले व्यवसायमा ऊर्जा थपिएको चौलागाँईको प्रतिक्रिया छ ।
यस्तै, मुगुको रबि बिफोर जेभी र कालिकोटको हिमचुली सहकारी पनि सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यालय जुम्लाको कार्यक्षेत्र भित्रका तीन जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्ने व्यवसायी तथा संस्थाहरूलाई यस वर्ष सम्मान गरिएको कार्यालयले जनाएको छ ।

