साउन २५ जुम्ला
तिला गाउँपालिका–९ ले हरित विद्यालय निर्माण र जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नको लागि वृक्षारोपण गरेको छ । वडा भित्र रहेका सामुदायिक विद्यालय परिसर, सार्वजनिक स्थल, मठमन्दिर, पर्यटकीय क्षेत्र र बाढी पहिरोको उच्च जोखिम रहेको ठाउँमा वृक्षारोपण गरेको हो ।
वडा भित्र रहेका ६ वटा विद्यालय मध्ये ज्योति माध्यमिक विद्यालय राँसामालापानी र महादेव माध्यमिक विद्यालय रुखडेचौर तथा आधारभुत तहमा नदैदेवि आधारभुत विद्यालय माथिलो खोप्रि, मालिका आधारभुत विद्यालय तल्लोखोप्रि, सूर्यदय आधारभुत विद्यालय राँसा, महादेव आधारभुत विद्यालय ढिपुमा वृक्षारोपण गरिएको वडाध्यक्ष धन वहादुर रावतले बताउनु भयो । यसैगरी, खानेपानीका मुहान भएको स्थान र पहिरोको उच्च जोखिम भएको ठाउँमा पनि वृक्षारोपण गरिएको उहाँको भनाइ छ ।
सडक खनिएको ठाउँमा पहिरोको जोखिम भएकाले वृक्षारोपण गरिएको हो । तिलाको प्रमुख पर्यटकीय क्षेत्र नदैगुफामा पनि वृक्षारोपण गरिएको छ । विभिन्न स्थानमा गरी जम्मा ४ हजार विरुवा रोपिएको रावतले बताउनु भयो । जसमा ३ हजार सल्लोका विरुवा र अन्य १ हजार धुपि, पिपल, लहरे बैँस र लालि गुराँसका विरुवा रोपिएको छ ।
वडाको पाँच लाख बजेटबाट वृक्षारोपण गरिएको उहाँका भनाइ छ । आगामी वर्षमा ढटेलो र ओखरका विरुवा विद्यालयमा रोपण गरिने उहाँले बताउनु भयो । विद्यालयमा विरुवा रोपिए संरक्षण हुनुका साथै आम्दानी हुने र हरित विद्यालय निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको रावतको भनाइ छ ।
जलवायु परिवर्तनको असर न्युनिकरण गर्न र हरित विद्यालय निर्माणको लक्ष्यसहित वृक्षारोपण गरिएको हो । अन्य समयमा रोपिएका विरुवा हुर्काउन समस्या हुने भएकाले यस वर्ष साउन महिनामा वृक्षारोपण गरिएको वडाध्यक्ष धनबहादुर रावतले बताउनु भयो । उहाँका अनुसार साउनको मौसममा पानी प्रशस्त हुने भएकाले विरुवा मर्ने सम्भावना न्युन हुन्छ ।
उहाँले वृक्षारोपणले विद्यालय परिसरलाई हरियाली बनाउने मात्र नभई वातावरणलाई स्वच्छ राख्न पनि मद्दत पुग्ने उल्लेख गर्नुभयो । विरुवा रोपणमा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र गाउँका आमा समूहका सदस्यहरुको सहभागिता रहेको थियो । विरुवा रोपणबाट वातावरण संरक्षणमा सहयोग पुग्नेछ अपेक्षा गरिएको छ ।

