भदौ २ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलासिस सेवा सुरु भएको छ । मृगौला रोगीका लागि निकै महत्वपूर्ण र अत्याआश्यक मानिने डायलासिस सेवा जुम्लामै सुरु भएको हो । डायलासिस मेसिन स्थापना भएको दुई वर्षपछि सेवा पूर्ण रुपमा संचालन आएको छ । जसले गर्दा विकट कर्णालीका नागरिकले राहत पाएका छन् । तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जुम्लामा २०८० साल भदौ १४ गते डायलासिस सेवाको शुभारम्भ गर्नु भएको थियो ।
तर, उपकरण अभाव लगायतका प्राविधिक कारणले सेवा संचालनमा आउन सकेको थिएन् । जसले गर्दा कर्णाली थुप्रै विरामी मारमा परेका थिए । स्वच्छ पानीको पहुँच प्रयाप्त रुपमा नपुगेको कर्णालीमा मृगौलाका विरामीको संख्या उल्लेखीय छ । पश्चिम नेपालकै भरोसा केन्द्रका रुपमा स्थापति कर्णाली प्रतिष्ठानमा डायलासिस सेवा नपाउँदा स्थानीय नागरिक महंगो खर्च गरेर नेपालगन्ज काठमाण्डौँ जान बाध्य थिए ।
स्थापना भएको दुई वर्ष पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु भएको प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन कुमार रोकायाले बताउनु भयो । कर्णालीका लागि डायलासिस सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धी हो । यसको व्यवस्थापन र निरन्तर सेवा प्रदानमा हामी गम्भीर छौँ । उहाँले भन्नुभयो, ’हाल दुई वटा मेसिन मार्फत सेवा सुरु गरेका छौँ ।
बिरामीको संख्या बढ्दै जाने अनुमान भएकाले थप चारवटा मेसिन तयारी अवस्थामा राखिएका छन् । स्थापनाको दुई वर्षपछि सुरु भएको डायलासिस सेवा पहिलो पटक मुगुकी एक महिलाले पाउनु भएको छ । मुगु खत्याड गाउँपालिका–२ कि जिरकला बियारलाई पहिलो पटक डायलासिस सेवा प्रदान गरिएको हो । विगतमा यही सेवाका लागि जहाज चार्टर गरेर महंगो खर्च गरेर नेपालगन्ज काठमाण्डाँै पुग्ने नागरिकले अब जुम्लामै सेवा पाएपछि राहत महसुश गरेका छन् ।
जिरकला बियारका आफन्त भन्छन, ’हामीले जुम्लामा मृगौलाको उपचार हुन्नकी सोचेका थियौ । आर्थिक अभाव थियो । कसरी उपचार गर्ने तनाव थियो । तर जुम्लाकै मृगौलाको डायलासिस जुम्लामै भएपछि ठुलो राहत पाएका छौ । यस्तो सेवालाई निरन्तरता दिनु पर्छ । विगतमा औषधी मुलो राम्रो नपाईने कर्णालीमा अहिले डायलासिस जस्ता ठुलो सेवा सुरु हुनु खुसीको कुरा भएको जुम्लाबासीले बताएका छन् ।
अब कर्णाली प्रदेश सहित पश्चिम नेपालका नागरिक मृगौलाको डायलासिसका लागि महंगो खर्च गरेर बाहिर जानु पर्ने छैन् । भने सेवा नपाएर कर्णाली बासीले अकालमै मृत्युवरण पनि गर्नु पर्ने छैन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्सिङ डाईरेक्टर सविना थापाले डायलासिस सेवाले कर्णालीबासीले राहत पाउनुका साथै ठुलो धनरासी बचत हुने बताउनुभयो । विशेषगरी मृगौलाका दीर्घकालीन रोगीहरूलाई नियमित डायलासिस आवश्यक पर्छ ।
तर, कर्णाली क्षेत्रका बिरामीहरू आर्थिक, भौगोलिक र यातायातजन्य कठिनाइका कारण समयमा उपचार लिन सकिरहेका थिएनन् । यही आवश्यकतालाई दृष्टिगत गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि तयारी गर्दै आएको यो सेवा सञ्चालनमा ल्याएको हो ।
प्रतिष्ठानले आगामी दिनमा डायलासिस सेवासँगै मृगौला प्रत्यारोपणको पूर्वतयारी गर्ने लक्ष्य राखेको समेत जनाएको छ । कर्णाली जस्तो दुर्गम क्षेत्रमा यस्तो सेवा विस्तार हुनु स्वास्थ्य सेवाको पहुँचलाई सर्वसाधारणसम्म पु¥याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

