साउन १३ जुम्ला
जुम्लाको सरकारी टोली भगवती पुजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिका तर्फ प्रस्थान गरेको छ । सुुूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पुजाआजाका लागि जुम्लाको सरकारी टोली मंगलबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका सुब्बा विष्णु महतको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौ भक्तजनको टोली बडिमालिका प्रस्थान गरेको हो । हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्धारा संयुक्त रूपमा बडिमालिकाको पुजा गर्ने प्रचलन अनुसार जिल्लाको सरकारी टोली बडिमालिका गएको जुम्लाका प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।
नेपाली सेनाको एक टुकुडीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पुजाको डोलीसहित बडिमालिका हिँडेको टोलीलाई भव्यसाथ बिदाइ गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी मीनवहादुर रावलले बताउनु भयो ।
परम्परादेखि नै हरेक नागपञ्चमीका दिन जुम्लाको सरकारी टोली पुजाका लागि बडिमालिका जाने चलन छ । डोटी बाजुराको टोली बडिमालिका आउने र जुम्लाको टोली बडिमालिका पुगेर संयुक्त पुजा गर्ने प्रचलन रहेको छ । बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ ।
जुम्लाका संस्कृत सम्बन्धी जानकार व्यक्ति चित्रलाल श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पुजाका सामानहरू (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पुजाका लागि पठाउने गरिन्छ ।
बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । बडिमालिकाबाट टोली १७ दिनपछि जुम्ला फर्किने छ ।

