जुम्ला । कर्णालीको मुटु हिमाली भेग जुम्लामा रहेको ऐतिहासिक स्तुम्बा गुम्बा पछिल्लो समय धार्मिक पर्यटन र सांस्कृतिक अध्ययनको प्रमुख केन्द्रका रूपमा चिनिँदै गएको छ। गुम्बाभित्र रहेको चैत्य स्तुम्बाले मात्र धार्मिक आस्था र विश्वासलाई जीवन्त बनाइरहेको छैन, यसले जुम्लाको पर्यटनलाई भावपूर्ण मनोरञ्जन दिने आध्यात्मिक धरोहरको रूपमा पनि चिनाइरहेको छ।
स्थानीय बौद्ध समुदायका अनुसार स्तुम्बा गुम्बा र चैत्य स्तुम्बा सदियौँ पुरानो इतिहास बोकेको स्थल हो। यहाँ नियमित रूपमा बौद्ध पूजा, प्रार्थना र ध्यान कार्यक्रम आयोजना हुन्छ। हिन्दू, बौद्ध र अन्य धर्मका मानिसहरू मिलेर यहाँ पूजाआजा गर्ने परम्पराले धार्मिक सहिष्णुता र सद्भावको सन्देश दिएको छ।
इतिहासविद्हरूका अनुसार चैत्य स्तुम्बा केवल एक धार्मिक प्रतीक मात्र नभई जुम्लाको सांस्कृतिक पहिचान समेत हो। यसलाई संरक्षण गर्न सके आगामी पुस्ताले आफ्नो मौलिकता र परम्परा बुझ्ने अवसर पाउनेछन्।
स्तुम्बा गुम्बाबाट देखिने हरियाली, आसपासका हिमाली दृश्य र जुम्ली गाउँघरको जीवनशैलीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गर्छ। गुम्बा परिसरमा पाइने शान्त वातावरणमा ध्यान, योग र आध्यात्मिक पर्यटन गर्न सकिने भएकाले विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना देखिएको छ।
पर्यटन व्यवसायीहरूको भनाइमा, “स्तुम्बा गुम्बा जुम्लाको मात्रै नभई कर्णाली प्रदेशकै पर्यटक आकर्षण स्थल बन्न सक्छ। यहाँको धार्मिक महत्त्वसँगै प्रकृति, संस्कृति र जीवनशैलीको अनुभवले पर्यटकलाई अपूर्व स्मृति दिन्छ।”
हाल गुम्बासम्म पुग्ने बाटो साँघुरो छ, साथै होटल, होमस्टे र प्रचार–प्रसारको कमी छ। तर, स्थानीय युवाहरूले सामूहिक प्रयास गरेर होमस्टे सञ्चालन, सांस्कृतिक नृत्य–संगीत प्रदर्शन र जुम्ली खानपानमार्फत पर्यटकलाई आकर्षित गर्ने अभियान सुरु गरेका छन्।

