जुम्ला । कर्णालीको हिमाल–पहाडको माटोले फेरि एकपटक सांगीतिक धुन जन्माएको छ। “मलाई माया गर सानु” बोलको म्युजिक भिडियो सार्वजनिक भएपछि जुम्लाको सांस्कृतिक वायुमण्डल झन् रौनकिलो बनेको छ। स्थानीय सिर्जना, स्थानीय कलाकार र स्थानीय कथावस्तु मिसिएको यो गीतले जुम्लाबाटै राष्ट्रिय स्तरको काम सम्भव छ भन्ने प्रमाण प्रस्तुत गरेको छ।
भिडियोको निर्देशन र कन्सेप्ट राजेश विश्वकर्मा को रहेको छ। उनी जुम्लामै बसेर निरन्तर कला–सांस्कृतिक अभियान चलाइरहेका युवा निर्देशक हुन्। यो भिडियोले उनको सिर्जनात्मक यात्रामा अर्को अध्याय थपिदिएको छ।
गीतका शब्दरचनाकार र गायक रमेश डाँगी हुन्। उनले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका छन्। गीतमा उनले चर्चित गायिका टिका पुन सँग स्वर मिलाएका छन्।
गीतको एरेन्जर हेमन्त शिशिर, मिक्सिङ–मास्टरिङ जय देवकोटा, र रेकर्डिङ तारांगा स्टुडियोमा सम्पन्न भएको छ।
भिडियोका दृश्यहरूलाई हिरा भाई ले क्यामेरामा उतारेका छन् भने प्रसान्त नेपाली ले समेत साथ दिएका छन्। सम्पूर्ण फुटेजलाई कलात्मक ढंगले सुमन एस.के ले सम्पादन गरेका छन्।
नृत्य संयोजन (कोरियोग्राफी) मुस्कान परियार को रहेको छ, जसले भिडियोमा अतिरिक्त आकर्षण थपिदिएको छ।
भिडियोमा सामाजिक सञ्जालमार्फत चर्चामा आएका ‘गरी कुडाका’ नामले भाइरल विर्ख बहादुर महत र लक्ष्मी खत्री महत को रोचक प्रस्तुति छ।
त्यस्तै, हिरा शाही, राजेश विश्वकर्मा, रमेश डाँगी, जानकी बुढा र सर्मिला आचार्य लगायतका कलाकारहरूले समेत दमदार अभिनय प्रस्तुत गरेका छन्।
“मलाई माया गर सानु” केवल एउटा म्युजिक भिडियो मात्र होइन, यो जुम्लाको सांगीतिक सम्भावनाको परिचय हो। स्थानीय कलाकारहरूको सहभागिता, गाउँकै कथालाई प्रतिविम्बित गर्ने दृश्य, र मौलिक शैलीमा बनेको यस भिडियोले जुम्लालाई मात्र नभई सम्पूर्ण कर्णालीलाई सांगीतिक नक्शामा स्थापित गर्ने सम्भावना देखाएको छ।
निर्देशक राजेश विश्वकर्माको भनाइमा, “गाउँमै बसेर पनि गुणस्तरीय काम गर्न सकिन्छ भन्ने सन्देश दिन हामीले यो प्रयास गरेका हौं। यो सिर्जना केवल हाम्रो मात्र होइन, सम्पूर्ण जुम्लाली समुदायको गौरव हो।”

