साउन ११ जुम्ला
जुम्ला गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खादा एकै परिवारका पाँच जना बिरामी भएका छन् । आईतबार दिउँसो करिब ३ बजे पकाएर खाएको च्याउको सेवनपछि उनीहरूमा विषाक्तताको लक्षण देखिएको हो । घाइते हुनेमा ६० वर्षीय लेखकमान महताराको परिवारका सदस्यहरू ५८ वर्षीया राजकुमारी महतारा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतारा बिष्ट र ३ वर्षीय बालक पुजन बिष्ट रहेका छन् ।
सबै जनाले घर नजिकैको जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । खाना खाएको केही समयपछि उनीहरूमा वान्ता हुने, पेट दुख्ने, जीउ गल्ने लगायतका लक्षण देखा परेपछि स्थानीयले तत्काल उद्धार गरी साँझ करिब ७ः१५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पु¥याएका थिए । प्रतिष्ठान स्रोतका अनुसार सबै बिरामीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उनीहरू चिकित्सकीय निगरानीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।
सही समयमा अस्पताल ल्याइएकाले ज्यान जोगिएको हो । घटनापछि प्रहरी चौकी मणिसाँघुबाट टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रारम्भ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले हाल च्याउ टिप्ने र खाने सिजन भएकाले विषालु प्रजातिको च्याउबाट सतर्क रहन सबैमा आग्रह गरेको छ ।
स्थानीयवासीका अनुसार मणिसाँघु आसपासका जङ्गलमा थुप्रै प्रकारका च्याउ पाइन्छन् । तर तीमध्ये केही अत्याधिक विषालु हुन्छन् । जसको सही पहिचान बिना सेवन गर्दा ज्यानसम्म जोखिममा पर्न सक्ने बताएका छन् । हरेक वर्ष वर्षायामसँगै जंगली च्याउ सेवनका कारण बिरामी पर्ने घटना दोहोरिने गरेको छ । विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दाहरूले च्याउको प्रजाति नचिनीकन खाँदा यस्ता समस्या हुने गरेका छन् ।

