जुम्लामा जात्रा शुरु, पहिलो दिन गाईजात्रा
, साउन २५ जुम्ला
जुम्लामा आईतबारदेखि कर्णालीकै लामो र ठुलो जात्रा शुरु भएको छ । पहिलो दिन आईतबार गाईजात्रा, २६ गते रोपाई जात्रा, २७ गते पल्टन जात्रा, २८ गते बाघभालु जात्रा तथा साउन ३१ गते कृष्ण जन्मष्टमी र भदौ १ गते लाखे काट्ने जात्रा संचालन हुने जात्रा समितिले जनाएको छ ।
वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा नेवार समुदायले आईतबार पहिलो दिन गाइजात्रा पर्व मनाएका छन् । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईलाई सिंगारेर अथवा मानिसले गाईको रुप धारण गरेर टोलटोल घुम्ने चलन छ ।
शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले दिवंगत भएका आफन्तको सम्झनामा घरघरबाट गाईजात्रा निकाली शहर परिक्रमा गर्न लगाएकोले त्यहि बेलादेखि गाइजात्राको सुरुवात भएको मानिन्छ ।
त्यतिले पनि रानीको मन शान्त नभएकोले विभिन्न प्रकारका प्रहशन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गर्ने आदेश दिए अनुसार आज हाँस्य व्यङ्ग्यात्मक कार्यक्रम पनि गरिन्छ । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने दिनको रुपमा समेत परिचित छ ।
यसैबिच, जात्रा समिति जुम्लाद्धारा आईतबार पितृ पुजाका लागि दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म गाइजात्रा निकालिएको छ । बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन छ ।
एक हप्ता चल्ने जात्रामा गाईजात्रा पछि रोपाइँ जात्रा, सानो पल्टन जात्रा, मिम बादशाह जात्रा र ठुलो पल्टन तथा बाघ भालु जात्रा लगायतका स्थानीय भाषा सांस्कृति झल्कीने झाँक्री समेत प्रदेश गरिने छ । जत्रा हेर्न साविक कर्णालीका पाँच जिल्लासहित जाजरकोट, दैलेख, कालिकोट, मुगु सुर्खेत लगायतका जिल्लाबाट आउने गर्छन् ।
जुम्लामा यो जात्रा वि.सं १९५३ सालबाट निरन्तर मनाउदैँ आएको ऐतिहास छ । भदौ कृष्ण प्रतिपदाका दिनदेखि सुरु भएको जात्रा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट लाखे काटेपछि मात्रै सकिन्छ । जात्रा अवधिभर जुम्लाको अर्थतन्त्र पनि चलायमान हुने व्यापारीहरुले बताउने गरेका छन् ।
फोटो क्याप्सन ः जुम्लामा निकालीएको गाईजात्रा । तस्बिर ः नौरते नेपाली

