पुस ५ जुम्ला
जुम्लामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप कार्यक्रम तथा सरसफाइ प्रवद्र्धन सम्बन्धी समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यालय प्रमुख किरण शर्माका अनुसार चारवटा स्थानीय तहका ३० वटा वडामा कार्यरत स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको सहभागितामा गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीको उद्देश्य खोप कार्यक्रमको समीक्षा गर्नुका साथै सुष्म योजना अध्यावधिक तथा निर्माण गर्नु रहेको छ । कार्यक्रममा जुम्ला निर्वाचन क्षेत्र (क) अन्तर्गतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ । यही पुस ७ र ८ गते सिँजा क्षेत्रका स्वास्थ्यकर्मीहरूको सहभागितामा पनि कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
गोष्ठीको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले स्वास्थ्यकर्मीहरूले स्वास्थ्य क्षेत्रमा एक कदम अघि बढेर नागरिकलाई सेवा दिइरहेको उल्लेख गर्नुभयो । मानव जीवनका लागि स्वास्थ्य अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै उहाँले समयमै खोप नलगाइए ठुलो असर पर्ने भएकाले खोपसम्बन्धी सचेतना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले खोप अनिवार्य रूपमा लगाउनुपर्ने बताउनुभयो ।
खोपको महत्वबारे समुदायस्तरमा व्यापक जानकारी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । गोष्ठीले जुम्लामा खोप कार्यक्रमको प्रभावकारिता बढाउने तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

