जुम्ला । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायाले पत्रकारितालाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाले कडा आपत्ति जनाएको छ। मंसिर १९ गते सम्पन्न एक औपचारिक कार्यक्रममा जुम्लाका पत्रकारहरूलाई ‘ठेकेदार’ को उपमा दिएपछि महासंघले विज्ञप्ति जारी गर्दै उक्त बयानलाई अस्वीकार्य ठहर गरेको हो।
कार्यक्रमका दौरान दिगो पोस्टका सम्पादक लोकेन्द्रराज गिरीले जिल्लामा भएका विकास निर्माण कार्यको अनुगमन र न्यून प्रगतिबारे प्रश्न उठाएका थिए। सोही प्रश्नप्रति आक्रोशित हुँदै समन्वय प्रमुखले पत्रकारितामाथि नै टिप्पणी गर्दै सार्वजनिक सुनुवाइलगायतका गतिविधि पत्रकारहरूले ठेक्का बमोजिम सञ्चालन गर्ने गरेको आरोप लगाएका थिए। प्रश्नको प्रसंग बेवास्ता गर्दै पत्रकारितालाई लक्षित गरी गरिएको अभिव्यक्ति तथ्यहीन र दुराशययुक्त रहेको महासंघले जनाएको छ।
नेपाल पत्रकार महासंघ जुम्लाले जारी गरेको विज्ञप्तिमा श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिकलाई सुसूचित गर्ने दायित्वबारे स्पष्ट उल्लेख गर्दै पछिल्ला वर्षहरूमा पत्रकारिता विभिन्न कोणबाट आक्रामणको दायरामा परेको चिन्ता व्यक्त गरिएको छ। पत्रकारहरू समाचार लेख्दा तथा बहस र सार्वजनिक मुद्दामा पैरवी गर्दा नै बारम्बार असुरक्षित बन्दै गएको उल्लेख छ।
महासंघका अनुसार, सार्वजनिक सुनुवाइ कार्यविधि २०६७ ले नै तेस्रो पक्षमार्फत कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरेकाले सञ्चारगृहहरूद्वारा गरिने सञ्चालन कानुनी प्रक्रियाभित्रको काम हो। त्यसैलाई तोडमोड गरी पत्रकारलाई ‘ठेकेदार’ जस्तो शब्द प्रयोग गर्नु जिल्लाका जिम्मेवार पदाधिकारीबाट आएको गैरजिम्मेवार अभिव्यक्ति भएको महासंघको धारणा छ।
- समन्वय प्रमुखले आफ्ना दाबीहरू प्रमाणसहित प्रस्तुत गर्न नसकेमा उक्त टिप्पणी पूर्ण रूपमा आधारहीन सावित हुने भन्दै महासंघले पत्रकार ठेकेदार हुन् भन्ने आरोप प्रमाणित गर्न चुनौती दिएको छ।

