पुस २४ जुम्ला
जुम्लामा स्याउ बगैँचा काटछाँट तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । गुणस्तरीय स्याउ उत्पादन गर्ने र किसानलाई स्याउका बिरुवा काटछाँट तथा व्यवस्थापन सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले अभियान थालिएको हो । कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास), चन्दननाथ नगरपालिका र कृषि विकास कार्यालय जुम्लाको संयुक्त आयोजनामा अभियानको सुरुवात गरिएको हो । हाल स्याउका बिरुवा भोकाएका र तिर्खाएका अवस्थामा रहेकाले यो समयमा काटछाँट अत्यन्त महत्वपूर्ण मानिएको छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यतिबेला स्याउका बिरुवा सुसुप्त अवस्थामा हुने भएकाले काटछाँट गर्न उपयुक्त समय भएको बताउनु भयो । किसानको बगैँचामै पुगेर स्याउ व्यवस्थापनका विषयमा जानकारी दिने उद्देश्यले अभियान सुरु गरिएको उहाँका भनाइ छ । उहाँका अनुसार स्याउ राम्रो फलाउन व्यवस्थापन अनिवार्य छ । अहिले काटछाँट, सिँचाइ र मलखादको मात्रा मिलाउन सके उत्पादन उल्लेख्य रूपमा बढ्न सक्छ ।
साथै स्याउमा लाग्ने रोग नियन्त्रणका लागि निलो तुथो र चुनाको प्रयोग गर्न उहाँले सुझाव दिनु भएको छ । १ लिटर निलो तुथोमा १ सय माना पानी मिसाउनु पर्ने र १ लिटर चुनामा पनि १ सय माना पानी मिसाएर प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । कृषि विकास कार्यालय जुम्लाले जिल्लाका आठवटा स्थानीय तहका ६० वडामध्ये ३० वटा वडामा पुगेर किसानलाई सीप हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । सम्बन्धित किसानको बगैँचामै पुगेर प्राविधिक ज्ञान प्रदान गरिने अधिकारीले बताउनु भयो ।
अभियान सुरु भएसँगै अब गुणस्तरीय स्याउ उत्पादन सम्भव हुने उहाँको विश्वास छ । काटछाँटपछि बोडोपेस्ट र बोडो मिक्सचर प्रयोग गर्न समेत किसानलाई सुझाव दिइएको छ । यसअघि स्याउ काटछाँट सम्बन्धी तालिम सुर्खेतमा आयोजना हुने भनिएपनि यस पटक जुम्लामै तालिम सञ्चालन गरिएको हो । जुम्लामा तालिम सञ्चालन भएकाले १३ जना कृषि प्राविधिकको सहभागिता रहेको थियो ।
सुर्खेतमा तालिम हुँदा चार जना मात्रै सहभागी हुन पाउने अवस्था भएकाले जुम्लामै तालिम सञ्चालन गर्न लगाईएको अधिकारीले बताउनु भयो । कृषि विकास कार्यालयको पहलमा जुम्लामै तालिम सञ्चालन गरिएकाले जिल्लाका आठवटै स्थानीय तहका कृषि प्राविधिकले स्याउ काटछाँटको सीप हासिल गरेको कार्यालयले जनाएको छ ।
प्राप्त ज्ञान किसानको बगैँचासम्म पुगेर प्रयोगमा ल्याउने योजना रहेको पनि कार्यालयले बताएको छ । चन्दननाथ नगरपालिका–९ का कार्यवाहक वडाध्यक्ष विर्ष गिरीले किसानको बगैँचामै पुगेर ज्ञान सिकाउने अभियानप्रति आभार व्यक्त गर्नुभयो । गुणस्तरीय स्याउ उत्पादन र उत्पादन वृद्धि गर्न काटछाँट अत्यावश्यक रहेको उहाँको भनाइ छ । जिल्लामा ४ हजार ४ सय ४५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।
यसै वर्ष मात्रै १७ हजार ६ सय ६५ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । उच्च घनत्व जातको ५२ हेक्टरमा स्याउ खेति गरिएको छ । उच्च घनत्वको १८ हजार २ सय ४५ मेट्रिक टन स्याउ उत्पादन भएको छ । यसै वर्ष जुम्लाबाट ३१ करोड २९ लाख ८९ हजार २ सय ७० रुपैयाँको स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

