जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–३ बुड्थबाडामा ३२ वर्षीय तिर्थ बुढ्थापा मृत फेला परेका छन्। आफ्नै घरमा झुण्डिएको अवस्थामा देखिएपछि घटनाले गाउँभरि स्तब्धता छाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रबिनबाबू रेग्मीका अनुसार दिउँसो करिब ३ बजेतिर छिमेकीहरूले मृतकलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
शवलाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला लगिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्या हुनसक्ने आशंका गरिएको भए पनि वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
स्थानीयहरूका अनुसार तिर्थ मेहनती र परिवारप्रेमी व्यक्ति थिए। उनको अकस्मात मृत्युले गाउँमा मात्र होइन, साथीभाइ र आफन्तजनमा पनि ठूलो शोक छाएको छ। “उनी यस्तो कदम चाल्छन् भन्ने कसैले कल्पना गरेका थिएनौं,” एक छिमेकीले बताए।
सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले भने पछिल्ला दिनमा ग्रामीण भेगमा मानसिक स्वास्थ्य समस्या, आर्थिक दबाब र वैदेशिक रोजगारीको असफलताजस्ता कारणले यस्ता घटना बढ्दै गएको टिप्पणी गरेका छन्। उनीहरूले समुदायमै मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम, परामर्श सेवा र सहजीकरण आवश्यक रहेको सुझाव दिएका छन्।
जिल्ला प्रहरी कार्यालयले घटनाबारे विस्तृत जानकारी पोस्टमार्टम रिपोर्टपछि मात्रै सार्वजनिक गर्ने जनाएको छ।

