माघ ५ जुम्ला ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर जुम्ला जिल्लामा राजनीतिक गतिविधि चहलपहल बढेको छ । हालसम्म ६ वटा राजनीतिक दलले आफ्ना उम्मेदवार सार्वजनिक गरेसँगै जुम्लामा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेले जुम्लाबाट पार्टी अध्यक्ष शान्तिलाल महतलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । एमालेले संगठन सुदृढीकरण र स्थायित्वको नारासहित निर्वाचनमा जाने तयारी गरेको जनाएको छ ।
नेपाली काँग्रेसले दिपबहादुर शाहीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । काँग्रेसले विगतका उपलब्धि र लोकतान्त्रिक मूल्य–मान्यतालाई मुख्य एजेण्डा बनाएर मत माग्ने तयारी गरिरहेको बताइएको छ । यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नरेश भण्डारी उम्मेदवार रहनु भएको छ । पार्टीले जुम्लाका विकास, रोजगारी र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाउने जनाएको छ । नेकपा माओवादी (विप्लब) ले विर्षबहादुर शाही (प्रभाजित) लाई उम्मेदवार बनाएको छ ।
माओवादीले परिवर्तन, समावेशिता र जनआधारित विकासका मुद्दालाई मुख्य एजेण्डा बनाउने तयारी गरेको छ । यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल उम्मेदवार रहनु भएको छ । पार्टीले वैकल्पिक राजनीतिक धार र सुशासनलाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विनिता कठायतलाई उम्मेदवारको रूपमा अघि सारेको छ । रास्वपाले नयाँ राजनीतिक संस्कार, पारदर्शिता र युवाको सहभागितालाई जोड दिँदै चुनावी अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भने हालसम्म उम्मेदवारको टुंगो लगाउन सकेका छैन् । ती दलहरूले आन्तरिक छलफल जारी रहेको जनाएका छन् । गएको प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार दुई महिना अगावै टुङ्गो लगाउनु भएका ज्ञानेन्द्र शाहीलाई यस पटक निकै सकस परेको छ । भोलि माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ । तर आज माघ ५ गतेसम्म कुन जिल्लाबाट उम्मेदवार घोषणा गर्ने वा चुनाव नै नलड्ने रनभुल्ल पर्नु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जिल्लामा जम्मा ७१ हजार ७ सय ३९ जना मतदाता रहेका छन् । तीमध्ये ३७ हजार ४ सय ५९ जना पुरुष र ३४ हजार २ सय ८० जना महिला मतदाता रहेका छन् । मतदाताको संख्या र दलहरूको सक्रियताले यस पटकको निर्वाचन जुम्लामा निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरू प्रचार–प्रसार, भेटघाट तथा जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाउने तयारीमा छन् ।
जुम्लाका मतदाताहरू भने विकास, सेवा प्रवाह र दीर्घकालीन योजनालाई प्राथमिकता दिएर मत दिने अपेक्षा गरिएको छ । मतदाताहरूले विगतका प्रतिनिधिको कार्यसम्पादनको मूल्यांकन गर्दै योग्य र जिम्मेवार उम्मेदवार छनोट गर्ने मनस्थितिमा रहेको स्थानीयको भनाइ छ । राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा बढ्दै जाँदा जुम्लामा चुनावी माहोल थप तातिने देखिएको छ ।

