जुम्ला । चन्दननाथ नगरपालिकामा आज ७औं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा महिला हिंसा तथा घरेलु हिंसाको कानुनी व्यवस्था सम्बन्धी सरोकारवालाबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

“मर्यादा, समानता : मानव अधिकारका लागि मर्यादित महिनावारी” भन्ने मुख्य नाराका साथ आयोजित उक्त कार्यक्रम मिति २०८२ मंसिर २२ गते (८ डिसेम्बर २०२५) चन्दननाथ नगरपालिकाको सभाहलमा बिहान ११:३० बजे सुरु भएको थियो।

कार्यक्रममा चन्दननाथ नगरपालिका, सामाजिक विकास कार्यालय, महिला तथा बालबालिका शाखा, स्वास्थ्यकर्मी, स्वयंसेविका महिला अधिकारकर्मी, विद्यालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा महिनावारीसँग जोडिएका सामाजिक अपरिकथन, भेदभाव, स्वास्थ्यमा पर्ने असर तथा मर्यादित महिनावारी सुनिश्चित गर्न स्थानीय तहको भूमिका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै घरेलु हिंसा तथा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटनाबारे कानुनी प्रावधान, पीडितले पाउन सक्ने संरक्षण तथा सहयोगका उपायबारे कानुन व्यवसायी तथा सुरक्षा निकायका प्रतिनिधिहरूले जानकारी गराएका थिए।
कार्यक्रमका सहभागीहरूले महिनावारीलाई स्वास्थ्य र अधिकारको विषयका रूपमा राज्य तथा समाज दुवैले गम्भीरतापूर्वक हेरिनुपर्ने आवश्यकता औंल्याउँदै, स्थानीय तहमार्फत जनचेतना, पहुँच अभिवृद्धि र सेवा विस्तारका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए।
चन्दननाथ नगरपालिका र सामाजिक विकास कार्यालय जुम्लाको सहकार्य तथा समन्वयमा आयोजित उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ।

