जुम्ला ६ भदौ
जुम्लाको चन्दनाथ नगरपालिका–७, मिचा गाउँको एक कुनामा आज पनि पत्थरका पन्चदेवलहरू चुपचाप उभिएका छन्। तिनलाई गाउँ स्थानीयहरू “ पाच भाइ पाण्डवको पञ्चदेवल” भन्छन्। तर विडम्बना के छ भने – शताब्दीौँ देखिको इतिहास कथा बोकेर बसेका यी देवलहरू अझै पनि गुमनाम छन्। न त राष्ट्रिय सम्पदाको सूचीमा पुरै दर्जा पाएका छन्, न त पर्याप्त संरक्षण न त पर्यटकीय गन्तव्य
आज पनि पाँच भाइ पाण्डवहरूले इस्नान गर्ने खाने धारा नालो सकुसल नै छ लोककथाअनुसार महाभारतका पाँच पाण्डव भाइ—युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव—वनवासको क्रममा जुम्ला आइपुगेका थिए। उनीहरूले यहाँ बसेर भगवान् शिवलाई आराधना गरेका स्मृतिमा पञ्चदेवल उभ्याइएका मानिन्छन्।यी देवलहरू आज पनि मौन साधकझैँ छन्—जसलाई देखेर मानिसहरू अचम्म मान्छन्, तर कथा भने पिँढी दरपिँढी मौखिक रूपमा मात्रै बाँचिरहेको छ।
पुरातत्वविद्हरूले यी देवललाई जुम्लाको मल्लकालीन कारीगरीसँग जोड्छन्। ढुंगाको सुन्दर जोर्नी, गाभा–गाभामा देखिने कलात्मकता र निर्माण शैलीले यी देवलहरू कुनै सामान्य संरचना नभएको देखाउँछ। यहाँका ऐतिहासिक इन्चदेवल तर संरक्षणको कमीले यसको वास्तविक ऐतिहासिक नक्सा धुम्मिएको छ।
आज यी देवलहरूको छायाँमा हरियाली घाँस उक्लिएको छ, वरिपरिको पर्खाल समयसँगै जीर्ण देखिन्छ। कहिलेकाहीँ पूजा गर्ने स्थानीयहरू बाहेक बाहिरी पर्यटकको नजर क्वचित मात्रै पुग्छ।न त ठूला मेलाहरू आयोजना हुन्छन्, न त यसको महत्व प्रचार–प्रसार हुन्छ। इतिहासको पानामा लेखिनुपर्ने सम्पदा गाउँको कुनामा ओझेलमा परेको छ।
स्थानीय भन्छन्“हाम्रा पुर्खाले सुनाउने कथा र आस्था यही देवलमा बाँधिएका छन् अडिएका छन । तर बाहिरी संसारले चिन्न सकेको छैन। संरक्षण भए त यो हाम्रो गाउँ मात्र होइन, जुम्लाकै गर्व बन्ने थियो।” जुम्लाको पहिचान बोकेको यो पन्चदेवल अहिलेसम्म गुमनाम मै छ। यदि उचित संरक्षण, अध्ययन र पर्यटनसँग जोड्न सकियो भने पाँच भाइ पाण्डवको पञ्चदेवल जुम्ला मात्र नभई सम्पूर्ण कर्णालीको धार्मिक–ऐतिहासिक गन्तव्य बन्न सक्छ। तर अहिले यो कथा, यी ढुंगाका देवल र गाउँलेहरूको आस्था—सबै गुमनाम मौनतामा बाँधिएका छन्।
पञ्चदेवल केवल पत्थरका देवल मात्र होइनन् उनीहरू पौराणिक इतिहास कथा, स्थानीय आस्था, र ऐतिहासिक सम्पदाको प्रतीक हुन्। तर पनि संरक्षण र प्रचारप्रसारको कमीले यो सम्पदा अझै मिचा गाउँको एक कुनामा लुकेको कथा बनेर बसिरहेको छ। निचा गाउँको यो पञ्चदेवल जुम्लाको जीवित सम्पदा हो।
पौराणिक कथा, ऐतिहासिक प्रमाण र स्थानीय आस्था मिसिएको यस्तो स्थल नेपालमै विरलै छ। तर संरक्षण र पहिचानबिनाको यो मौनता लामो समय टिक्यो भने, यो सम्पदा केवल झारपातबीच हराएको कथा बन्न सक्छ। यदि अध्ययन, प्रचार–प्रसार र पर्यटनसँग जोड्न सकियो भने—यो स्थल केवल मिचा गाउँकै होइन, सम्पूर्ण कर्णालीकै धार्मिक–ऐतिहासिक गौरव बन्न सक्छ। अहिलेसम्म यो सम्पदा भने उस्तै मौन उभिएको छ ।इतिहास बोकेर पनि अझै गुमनाम।

