पुस १३ जुम्ला
जुम्लामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विकल्प सीमित छन् । यही कारणले हरेक वर्ष सयौँ विद्यार्थी स्नातक र स्नातकोत्तर अध्ययनका लागि जिल्ला बाहिरिन बाध्य छन् । यही यथार्थलाई बदल्ने उद्देश्यका साथ जुम्ला बहुमुखी क्याम्पसले नयाँ संकाय थप तथा शैक्षिक सुदृढीकरणको प्रक्रिया अघि बढाएको छ ।
यसै सन्दर्भमा जुम्ला बहुमुखी क्याम्पसमा जिल्ला स्तरीय सरोकारवालाहरूबीच छलफल आयोजना गरिएको छ । छलफलमा जुम्लाका स्थानीय तहका जनप्रतिनिधि, शिक्षा क्षेत्रका अगुवा, क्याम्पस प्रशासन र अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । २०३० सालमा स्थापना भएको जुम्ला बहुमुखी क्याम्पस जुम्लामा उच्च शिक्षाको मेरुदण्डका रूपमा चिनिदै आएको छ ।
तर समयअनुसार विषय र संकाय विस्तार हुन नसक्दा विद्यार्थीहरू बाहिर जान बाध्य भएको क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री बताउन भयो । अब जुम्लामै कानुन, व्यवस्थापन र सामाजिक विज्ञानका नयाँ विषय अध्ययन गराउने तयारी थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, क्याम्पसले कानुन संकायतर्फ एलएलबी, व्यवस्थापन संकायतर्फ बीआईएचएम र बीटीटीएम तथा मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ मास कम्युनिकेसन र सोसलवर्क लगायतका विषय सञ्चालन गर्ने योजना बनाईएको छ ।
यी विषय सञ्चालन हुन सके जुम्लाका मात्र नभई कर्णालीका अन्य जिल्लाका विद्यार्थीलाई समेत फाइदा पुग्ने विश्वास क्याम्पस प्रशासनको छ । क्याम्पस प्रमुख खत्रीका अनुसार नयाँ संकाय सञ्चालनका लागि स्थानीय तहको सहयोग अनिवार्य छ । हामीसँग शैक्षिक सम्भावना छ, जनशक्ति तयार गर्ने क्षमता छ, अब आवश्यक छ सहकार्य, उहाँले जोड दिनुभयो ।
जुम्लामै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न सकिने वातावरण निर्माण गर्न सबै पक्षले हातेमालो गर्नुपर्ने उहाँको आग्रह छ । छलफलमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले क्याम्पसले विद्यार्थी र बजारको मागअनुसार विषय सञ्चालन गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्नुभयो ।
स्थानीय आवश्यकता अनुसार विषय पढाउन सकियो भने यहाँका युवाले बाहिर जानुपर्ने बाध्यता कम हुन्छ, उहाँले भन्नुभयो । नयाँ विषय सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापनमा स्थानीय तहले सहयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । छलफलका क्रममा जुम्लाका स्थानीय तहका प्रमुखहरूले क्याम्पसको पहललाई सकारात्मक रूपमा लिएका छन् ।
कनकासुन्दरी, हिमा, तातोपानी र पातारासी गाउँपालिकाका अध्यक्ष तथा चन्दननाथ नगरपालिकाले कानुनलगायत स्नातक र स्नातकोत्तर तहका विषय जुम्लामै सञ्चालन गर्ने क्याम्पसको तयारीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

