माघ १३ जुम्ला
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लामा जेन–जी पुस्ताका युवा उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ । नेपाल जनता पार्टीबाट २६ वर्षका रनिल विक्रम शाही प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनु भएको हो । युवाको सहभागिता न्युन रहेको भनिने नेपाली राजनीतिमा शाहीको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका–२ डाँगीवाडा निवासी शाही हाल डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयमा अध्ययनरत हुनुहुन्छ ।
प्राविधिक पृष्ठभूमि भएको युवा उम्मेदवारका रूपमा उहाँले विकास, पूर्वाधार र सेवा प्रवाहलाई पहिलो चुनावि एजेन्डा बनाउनु भएको छ । देश राजनीतिक, आर्थिक र सामाजिक संकटमा फसेको अवस्थामा त्यसको निकास खोज्न आफु उम्मेदवार बनेको शाहीको भनाइ छ । उहाँका अनुसार हालका परम्परागत राजनीतिक नेतृत्वबाट देशमा अपेक्षित परिवर्तन सम्भव नदेखिएकाले नयाँ सोच, नयाँ ऊर्जा र नयाँ पुस्ताको नेतृत्व आवश्यक भइसकेको छ ।
देश बदल्न युवाले राजनीति बाहिर बसेर आलोचना मात्र होइन, प्रत्यक्ष नेतृत्व लिनुपर्छ, उहाँले भन्नुभयो । शाहीले विशेषगरी पछाडि परेका वर्ग, गरिब, दलित, किसान, मजदुर तथा दुर्गम क्षेत्रका नागरिकको आवाज संसदमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विकासका नाममा पहुँचवालाले मात्र लाभ लिइरहेको अवस्थाको अन्त्य गर्न संसदबाट बलियो आवाज उठाउने उहाँको भनाइ छ । जुम्लामा प्रतिनिधि सभा सदस्यका लागि कुल दश जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
प्रतिस्पर्धा कडा भए पनि युवा मतदाताको समर्थन आफ्नो पक्षमा आउनेमा शाही विश्वस्त हुनुहुन्छ । जुम्लाका युवाले परिवर्तन चाहेको हुनाले त्यसको विकल्पका रुपमा युवा उम्मेदवारको हैसियतले चुनावि मैदानमा उत्रिएको उहाँको भनाइ छ । युवा उम्मेदवारको उपस्थितिले यस पटकको निर्वाचनमा जुम्लाको राजनीतिक माहोल थप चासोपूर्ण बनेको छ । जेन–जी पुस्ताको उम्मेदवारीले परम्परागत राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयले स्थानीय स्तरमा चर्चा पाएको छ ।

