माघ २१ जुम्ला
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिनिता कठायतले राप्रपाका उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) ले चुनावी अभियानका क्रममा दुष्प्रचार गरेको आरोप लगाउनु भएको छ । बुधवार बिहान रास्वपा जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार कठायतले ज्ञानेन्द्र शाहीले प्रत्यक्षतर्फ हलो र समानुपातिकतर्फ घण्टी एउटै हो भन्ने गलत प्रचार गर्दै जनतालाई भ्रमित गरिरहेको बताउनु भयो ।
गाउँ–गाउँमा पुगेर यस्तो गलत सूचना प्रवाह गरिएको प्रति उहाँले आपत्ति जनाउनु भएको छ । घण्टी चुनाव चिन्ह मन परेको भए रास्वपाबाटै उम्मेदवारी दिनुपर्ने बताउँदै कठायतले सुर्खेतबाट रास्वपाको टिकट नपाएपछि जुम्ला आएर गलत प्रचार गरिएको आरोप लगाउनु भयो । संसदमा रहँदा कुनै ठोस काम गर्न नसकेर अहिले चुनावको बेला आँसु झार्ने नाटक बन्द गर्न समेत उहाँले सुझाव दिनु भयो । उम्मेदवार कठायतले गलत सूचना फैलाएर चुनावी वातावरण बिगार्ने काम नगर्न आग्रह गर्दै ज्ञानेन्द्र शाहीले मतदाता सामु गएर माफी माग्नुपर्ने बताउनु भयो ।
ठोस एजेण्डा नभएपछि घण्टी र हलोलाई एउटै भनेर भ्रम सिर्जना गरिएको उहाँको भनाइ छ । फागुनको पहिलो हप्ता जुम्लामा हुने आमसभामा बालेन्द्र शाह (बालेन) र रास्वपाका सभापति रवि लामिछाने जुम्ला आएर सत्य कुरा जनतामाझ राख्ने बताउँदै त्यसपछि ज्ञानेन्द्र शाहीको अवस्था के हुने हो भन्ने प्रश्न समेत उहाँले उठाउनु भयो । गलत सूचना प्रवाह गर्नुको सट्टा आफ्ना एजेण्डा लिएर चुनावी प्रचार गर्न कठायतले आग्रह गर्नु भएको छ ।

