तातोपानी, जुम्ला।
यो कुनै उड्ने कथा होइन—तर उड्न नदिइएको ठाउँमा पनि कसरी उड्न सकिन्छ भन्ने जीवित प्रमाण हो । एक तर्फ भौगोलिक दूरी, अर्कोतर्फ सामाजिक दूरी—यी दुई पर्खालबीच थुनिएको एउटा युवाक जसले पर्खाल भत्काएर आकाश चुम्ने सपना देख्य। उनको नाम हो, टक्क नेपाली।
नाम साधारण लागे पनि, सपना असाधारण थियो। कुनै पुस्तकमा पढिएको होइन, कुनै कक्षा वा प्रयोगशालामा सिकिएको होइन—तर जीवनको हरेक चोटबाट निस्केको सपना: हवाईजहाज बनाउने।
जब सबैले “तँ सक्दैनस्” भने, टक्कले भने, “म प्रयास गर्छु”।
उनको कार्यशाला थियो—घरको पुरानो टिनको छत। कुनै मेशिन छैन, कुनै ग्यारेज छैन, कुनै सहयोग छैन—तर कल्पनाशील हात छन्।
बस्तीले उनलाई कहिल्यै हेरेन, गाउँलेहरूले उनका सपनामा हाँसे। कहिले व्यंग्य, कहिले अपमान—तर उनले ती सबैलाई उर्जामा बदलिदिए। जब हावा चल्छ, जहाजको पंखा हल्लिन्छ—त्यो आवाज उनको जीवनको संगीतजस्तो लाग्छ।
टक्कको कथा केवल एक व्यक्तिको हो भनेर बुझ्दा, हामी धेरै कुरा छुटाउँछौं। यो एक दलित युवाको विद्रोह पनि हो—सामाजिक उपेक्षा र जातीय कठोरताको विरुद्धमा।
गरिबीले उनीसँग किताब खोस्यो, तर कल्पनालाई खोस्न सकेन। प्रविधिको पहुँच थिएन, तर आशावादको आकाश थियो।
जातीय अपमान, गरिबी, प्रविधिको अभाव, पुस्तौंदेखि थोपिएको मौनता यी सबै उनका जीवनका अनिवार्य छायाहरू थिए। तर त्यही छायामुनि एउटा उज्यालो पल्किन थाल्यो। त्यो थियो सपना—जहाज बनाउने
जहाँ अधिकांश मानिसहरू घरको छतलाई केवल ओढारका रूपमा बुझ्थे, टक्कले त्यसलाई रनवे माने। त्यही छतमा उभिएर उनले कल्पनाको मेसिन बनाउने सपना देखे हवाईजहाज गाउँलेहरू हाँसे, उनीमाथि उडायो कटाक्ष, केहीले ‘पागल’ भने। तर उनले ती शब्दहरूलाई इन्धन बनाइदिए। पुराना स्क्र्यापका पाटपुर्जा, फलामका टुक्रा परित्यक्त सामग्री—सबैलाई उनले सिर्जनात्मक पुनर्जन्म दिए।
आज, त्यो जहाजको संरचना ९० प्रतिशतसम्म बनिसकेको छ। इन्धन छैन, पंखा चलाउन शक्तिशाली मोटर छैन—तर त्यो जहाजमा एउटा कुरा छ, जुन कुनै यन्त्रले नाप्न सक्दैन: साहस। सपना मात्रै होइन, संकेत पनि टक्कले बनाएको जहाज, केवल एउटा प्रतिमा होइन। त्यो एउटा संकेत हो—कि सिमान्तमा जन्मिएको बच्चाले पनि संसार जित्न सक्छ, यदि साथमा हो दृढ संकल्प र कल्पनाशक्ति।
त्यो जहाजमा इन्धन छैन तर संघर्षको ऊर्जा छ।
त्यो जहाजमा पायलट छैन तर दृष्टिकोणको दिशा छ।
उनले त्यस जहाजका पखेटा चीनबाट ल्याएका सामानहरूबाट बनाएका छन्। करिब १ लाख खर्च गरेर घरको छतमा बनाएको यो संरचना अब गाउँको पर्यटकीय केन्द्र बन्दै गएको छ।मानिसहरू आउँछन्—हेर्छन्, फोटो खिच्छन्, छक्क पर्छन्। टक्क नेपाली भने, यो भीड होइन, “भविष्यको विश्वास” हो भन्छन्।
टक्कका हातबाट यसअघि प्याराग्लाइडिङ पनि सफलतापूर्वक उडिसकेको छ। उनी केवल सर्जक होइनन्, एक आन्दोलन हुन्, जसले विज्ञान, कला, र सामाजिक परिवर्तनलाई एकै छानामुनि ल्याएका छन्। उनका कार्यमा मौनता होइन, विचार बोल्छ। उनी भन्छन्, “सपना देख्न पैसा लाग्दैन, तर सपना साकार गर्न अठोट लाग्छ।”
उनले बनाएको जहाज प्रारम्भिक रूपमै भए पनि त्यसमा लगानी, अनुसन्धान र समर्पणको गहिरो नक्सा देखिन्छ। यस्ता सिर्जनशील प्रयासलाई राज्यले सहयोग गरोस् भन्ने उनी मात्र होइन, सिङ्गो गाउँ चाहन्छ।
टक्कले कुनै प्राविधिक डिग्री पाएका छैनन्। तर आत्मशिक्षामा उनी प्रोफेसर हुन्।
उनले पठनभन्दा बढी प्रयोगलाई विश्वास गरे।
इलेक्ट्रोनिक्सका साधारण सिद्धान्तहरू, सर्किटको प्रयोग, मोटरको समायोजन—सबै आफैं सिके।
तातोपानी गाउँपालिका–५ का वडाध्यक्ष छिरिङ महत पनि भन्छन्, “यदि टक्कजस्ता युवाले तालीम केन्द्र, प्रदर्शनस्थल वा अनुसन्धान गर्न चाहन्छन् भने वडाले सहयोग गर्न तयार छ। टक्क नेपालीको कथा कुनै परीकथा होइन। त्यो सामाजिक यथार्थसँग लड्ने सपनाको कथा हो।
यदि एक टक्क नेपालीले यस्तो सपना देख्न सक्छन् भने, हजारौं टक्कहरू देशको कुनाकाप्चामा बसिरहेका छन्—सिर्जनशील, अपहेलित र अवसरको पर्खाइमा। राज्यले उनीहरूलाई हेर्ने आँखा र दिने हात मात्रै चाहिन्छ।
“सपना हेर्न आकाश नचाहिन्छ, आँखा चाहिन्छ।
सपना उडाउन टावर नचाहिन्छ, छत चाहिन्छ।
र सपना पुरा गर्न ठूलै सहयोग होइन, विश्वास चाहिन्छ।”

