साउन १८ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा चिकित्सकको अभावका कारण भिडियो एक्सरे सेवा ठप्प भएको छ । डाक्टर नहुँदा एक्सरे सेवा ठप्प भएपछि उपचारका लागि आएका विरामीहरू मारमा परेका छन् । भिडियो एक्सरे गराउने रेडियोलोजिका डाक्टर दुई हप्ता पहिले प्रतिष्ठानमा बिना जानकारी अनुपस्थित भएकाले सेवा प्रभावित भएको हो ।
प्रतिष्ठानका निमित्त उपकुलपति डाक्टर डब्ब वहादुर धामीले रेडियोलोजि डाक्टरको खोजि भइरहेको बताउनु भयो । काम गरी रहनु भएका डाक्टर सम्पर्क विहिन भएकाले नयाँ डाक्टरको खोजिमा रहेको उहाँको भनाइ छ । अति आवश्यक विरामीलाई भिडियो एक्सरे सेवा उपलब्ध गराए पनि अन्य विरामीले भिडियो एक्सरे सेवा पाउन सकेका छैनन् ।
विशेषज्ञ चिकित्सक नहुँदा सेवा बन्द भएको स्वीकार गर्दै उहाँले छिट्टै व्यवस्थापन गरिने जानकारी दिनुभयो । छोराको उपचारमा प्रतिष्ठानमा जानु भएका गुठिचौर–५ देपालगाउँका नन्दराम नेपालीले भिडियो एक्सरे सेवा उपलब्ध नभएको गुनासो गर्नु भयो ।
छोरालाई पेट दुख्ने समस्याले प्रतिष्ठान पुगेपनि भिडियो एक्सरे नहुँदा समस्या पहिचान नभएको उहाँको भनाइ छ । प्रतिष्ठानले डाक्टरको समस्या देखाउँदै भिडियो एक्सरे सेवा दिन नसकेको प्रतिक्रिया दिएको छ । प्रतिष्ठानमा दैनिक दर्जनौँ विरामी उपचारका लागि पुग्ने गरेका छन् । जसमा हड्डी तथा आन्तरिक अंगको परीक्षणका लागि भिडियो एक्सरे अत्यावश्यक हुन्छ ।
तर, सम्बन्धित विशेषज्ञ चिकित्सक नहुँदा उक्त सेवा दुई हप्ता देखि बन्द भएको छ । रेडियोलोजिमा कार्यरत डाक्टर टंक आचार्यलाई कासले काजमा अन्तै पठाएको हुनाले समस्या भएको जनाएको छ । वैकल्पिक उपचारका लागि निजी क्लिनिकमा भिडियो एक्सरेका लागि प्रतिष्ठानले पठाउन मानेको छैन् । जसले विरामी मर्कामा परेका छन् ।

