जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KHSI) जुम्लाको नयाँ उपकुलपतिमा स्थानीय चिकित्सक डा. पुजन रोकाया नियुक्त भएका छन्। प्रतिष्ठानमा करिब एक दशकदेखि सतत सेवा दिँदै आएका रोकाया जुम्लाकै स्थायी बासिन्दा हुन्।
प्रधानमन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको निर्णय अनुसार मंगलबार डा. रोकायासहित मुलुकका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूको नियुक्ति गरिएको हो। प्रधानमन्त्री कार्यालयका स्रोतअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. भरत बहादुर खत्रीले मंगलबारै औपचारिक रूपमा नियुक्तिपत्र बुझेका छन्, भने बाँकी तीन उपकुलपतिहरूलाई बुधबार बिहान प्रधानमन्त्री निवासमा बोलाई नियुक्तिपत्र प्रदान गरिनेछ।
सरकारको निर्णयअनुसार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – डा. पुजन रोकाया विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर – प्रा. डा. बुद्धि पौडेल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा – प्रा. डा. भरत बहादुर खत्री
यसअघि, गत असार ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत (पूर्व मन्त्री, तर हाल प्रधानमन्त्रीको सिफारिसअनुसार पौडेल)को संयोजकत्वमा उपकुलपति छनोटका लागि तीन सदस्यीय सर्च कमिटी गठन गरिएको थियो। उक्त समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्यका रूपमा समावेश थिए।
डा. पुजन रोकायाले प्रतिष्ठानमा आफ्नो नियुक्तिपछि जुम्ला र सम्पूर्ण कर्णालीका जनताको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा गुणस्तर सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। उनी विगतमा प्रतिष्ठानको विभिन्न जिम्मेवारीमा रहेर ग्रामीण स्वास्थ्य सेवा विस्तार, चिकित्सक तथा स्वास्थ्यकर्मी तालिम, र आधुनिक चिकित्सा पूर्वाधार विकासमा सक्रिय रहँदै आएका छन्।

