साउन ७ जुम्ला
कार्य सम्पादनमा डिभिजन वन कार्यालय जुम्ला कर्णाली प्रदेशमै प्रथम भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा वार्षिक विनियोजित कार्यक्रम कार्यान्वयनमा डिभिजन वन कार्यालय प्रथम भएको हो । कर्णाली प्रदेशका ११ वटा डिभिजन वन कार्यालय मध्ये उत्कृष्ट कार्यसम्पादन गरेकोमा डिभिजन वन कार्यालयलाई सम्मान समेत गरिएको छ ।
हाल डिभिजन वन कार्यालय जुम्लामा भरत बुढ्थापा कार्यालय प्रमुख हुनुहुन्छ । उहाँको कार्यसम्पादन, कर्मचारी परिचालन तथा समन्वयको कार्यकौसलता कार्यक्रम कार्यान्वयमा देखिए पछि डिभिजन वन कार्यालय जुम्ला कर्णालीमै प्रथम हुन सफल भएको हो ।
सुर्खेतमा आयोजित कर्णालीका ११ वटै डिभिजन वन कार्यालयको प्रगती समिक्षा कार्यक्रममा उत्कष्ट वन डिभिजनलाई सम्मान गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव शेर बहादुर श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गर्नु भएको हो । सम्मान पत्र ग्रहण गर्दै डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले कर्णाली प्रदेशमै उत्कृष्ट कार्यालयमा घोषित भएपछि थप जिम्मेवारी महसुश भएको बताउनु भयो ।
तोकिएको जिम्मेवारी पुरा गर्दै गर्दा तालुक निकायबाट कामको प्रशंसा हुँँदा खुसी लागेको उहाँको भनाइ छ । मन्त्रालय अन्तर्गत वार्षिक विनियोजित कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहमा डिभिजन वन जुम्लाले गरेको काम अन्य जिल्लाका लागि पनि अनुसरण योग्य रहेको मन्त्रालयका सचिव शेर बहादुर श्रेष्ठले बताउनुभयो । डिभिजन वन कार्यालय जुम्लाको कुल बजेटको ७८.३५ प्रतिशत खर्च भएको छ ।

