साउन ५ जुम्ला
तातोपानी गाउँपालिका जुम्लाले प्रमुख प्रशासकीय अधिकृतसँग आर्थिक वर्ष २०८२÷८३ का लागि कार्यसम्पादन करार सम्झौता गरेको छ । गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँई र प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायत बीच कार्यसम्पादन सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो ।
साथै, गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरूसँग प्रमुख प्रशासकीय अधिकृत कठायतले पनि आ–आफ्नो जिम्मेवारी अनुसार कार्यसम्पादन करार सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष चौलागाँईका अनुसार यस सम्झौता मार्फत समयमै जनताको काम सम्पन्न गर्नु र सेवा प्रवाहलाई पारदर्शी बनाउनु मुख्य उद्देश्य रहेको बताउनु भयो ।
३६ बुँदामा आधारित कार्यसम्पादन करार सम्झौता भएको चौलागाँईले बताउनु भयो । उहाँले, मन्त्रालयको निर्देशन अनुसार करार अनिवार्य भएकाले सम्झौता गरिएको हो । जनताको काम ढिलासुस्ती नगरी समयमै सक्ने, योजना कार्यान्वयनमा चाँडो र प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता रहेको अध्यक्ष चौलागाँईको भनाइ छ ।
यस कार्यसम्पादन करारले पालिकाभित्र सेवा प्रवाहलाई थप जिम्मेवार, नतिजामूलक र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ । यस सम्झौताले हरेक शाखालाई निर्धारित जिम्मेवारी स्पष्ट रुपमा तोकिएको कठायतले बताउनु भयो । शाखा प्रमुखहरूले समयमै सेवा प्रवाह, योजना कार्यान्वयन, बजेटको उपयोग र नागरिक सन्तुष्टिका सूचकहरूमा कार्यसम्पादन गर्नुपर्ने छ ।


