जुम्ला । तिला गाउँपालिका–३ कुडारीमा शुक्रबार सम्पन्न बेमौसमी तरकारी खेती तथा सामग्री वितरण सम्बन्धी एकदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तिला गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा प्रविधिकहरूको समन्वयमा आयोजित तालिममा वडा नं. ३ र ७ का किसानहरूको उत्साहजनक सहभागिता रहेको थियो।
तालिममा कृषि शाखाका सातौँ तहका अधिकृत राजेश विश्वकर्मा र कृषि प्रविधिकहरूले सहभागी किसानलाई बेमौसमी तरकारी उत्पादनका आधुनिक विधि, ग्रिनहाउसको निर्माण तथा व्यवस्थापन, बीउ छर्नेदेखि रोग कीरा नियन्त्रणसम्मका व्यावहारिक सीपहरू प्रदान गरेका थिए।

तालिमको क्रममा किसानहरूलाई खेतबारीमै लगेर ग्रिनहाउस निर्माणको प्रत्यक्ष अभ्यास गराइएको थियो। सहभागी किसानहरूले प्लास्टिक टनेल, सिँचाइ प्रणाली, माटो व्यवस्थापन तथा मल–किटनाशकको उचित प्रयोगबारे विस्तृत जानकारी पाए।
कार्यक्रममार्फत २० जना किसानलाई ग्रिनहाउस, सागसब्जीका बीउ, विभिन्न मौसमी तथा बेमौसमी तरकारीका बीउलगायतका कृषि सामग्री वितरण गरिएको कृषि शाखाले जनाएको छ।अनि साथै कृषि प्राविधिक कर्ण नेपाली ले प्रयोगात्मक फिल्डमा किसानलाई एक ननुमा बनाएर सिकाए ।


कृषि अधिकृत विश्वकर्माका अनुसार गाउँपालिकाले किसानलाई आत्मनिर्भर तथा व्यावसायिक कृषि उत्पादनतर्फ उन्मुख गराउन आगामी दिनमा पनि यस्ता तालिम निरन्तर सञ्चालन गरिनेछ। उनका अनुसार तिला गाउँपालिकाका किसानलाई ग्रिनहाउस प्रविधि सिकाएर वर्षभरि उत्पादन लिन प्रेरित गरिँदैछ, जसले गाउँमै आयवृद्धि तथा खाद्य सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
सहभागी किसानहरूले तालिम उपयोगी भएको बताउँदै आफूहरूले सिकेका सीपलाई व्यावहारिक रूपमै खेतबारीमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।


