साउन ११ जुम्ला ।
जुम्लाको तिला गाउँपालिक-३, कुडारीस्थित तिला नदीले बगाएर ल्याएको रतुवाको सफल उद्दार गरी डिभिजन वन कार्यालय जुम्लाको जिम्मा लगाइएको छ। शुक्रबार अपराह्न ५ः५० बजे उक्त जंगली जनावरलाई कुडारी निवासी मुनप्रसाद भट्टराईले आफ्नै घर नजिकको तिला नदी किनारमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी चौकी कुडारीबाट प्रहरी निरीक्षक उत्तमकुमार बोहराको कमाण्डमा तीन जनाको टोली खटिएको थियो। टोलीले जंगली जनावरलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर तातोपानी गाउँपालिका अन्तर्गत सब(डिभिजन वन कार्यालयका अधिकृत रविन्द्रकुमार अधिकारीको जिम्मा लगाएको छ।
उक्त स्थान प्रहरी चौकी कुडारीबाट करिब एक किलोमिटर पश्चिममा पर्ने बताइएको छ। उद्दार गरिएको जनावरलाई प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिने वन कार्यालयले जनाएको छ। स्थानीयवासीले प्रहरी र वन कार्यालयको समन्वयमा गरिएको चाँडो र प्रभावकारी कार्यप्रति प्रशंसा व्यक्त गरेका छन्।

