जुम्ला । तिला गाउँपालिका–३ कुडारीस्थित काठेपुल अहिले अत्यन्त जिर्ण बनेको छ। सन् २०३४ सालमा निर्माण गरिएको सो पुल अहिले जीर्ण भएर ढल्किन थालेको छ। पुल जिर्ण अवस्थामै रहे पनि स्थानीयवासी जोखिम मोलेर दैनिक आवतजावत गर्न बाध्य छन्।
कुडारी, सियाला, लुम्सेरा र नुवाकोटका बासिन्दाहरूका लागि यही पुल मुख्य बाटो भएकोले विकल्प अभावमा सबै उमेरका मानिसहरू त्यहीँबाट नदि पार गर्न बाध्य छन्।
स्थानीय कर्णबहादुर हमालका अनुसार, पुलको अवस्था निकै खतरनाक भएकाले आवतजावत गर्दा सधैं डर लाग्ने गरेको छ। “केही दिनअघि एक जना स्थानीय व्यक्ति पुलबाट नदीमा खसेका थिए, पौडिन जान्ने भएकाले मात्रै ज्यान जोगियो,” उनले भने।
महिला हरु घास दाउरा गाईबस्तु चराउन बनतिर लैजाँदा पनि अक्सर मानिस र जनावर दुबै नदिमा खस्ने घटना हुने गरेको छ। वडाध्यक्ष धनबहादुर शाहीका अनुसार, पुल तत्काल मर्मत वा नयाँ निर्माण नगरिए आगामी दिनमा थप दुर्घटनाको जोखिम उच्च रहनेछ।
उनले भने, “वडाले प्राथमिक मर्मत गर्ने तयारी गरेको हो, तर स्थानीयले पक्की पुलको माग गर्दै असहयोग गरेपछि प्रक्रिया अघि बढ्न सकेको छैन।”
यसैबीच, तिला गाउँपालिका अध्यक्ष मोलिलाल रोकायाले स्थानीय सरकारको बजेट सीमित भएकाले संघ र प्रदेश सरकारलाई पक्की वा बेलिब्रिज निर्माणका लागि पटक–पटक अनुरोध गरिएको बताए। “तर, माथिल्लो निकायले हाम्रो अनुरोधलाई बेवास्ता गरेको छ,” उनले दुःख व्यक्त गरे।
उपाध्यक्ष गोरिकला बुढाका अनुसार, जिर्ण काठेपुल मर्मतका लागि ठूलो रकम आवश्यक नपर्ने भएकाले यदि स्थानीयहरूले मर्मतमा सहकार्य गरे पालिकाले तुरुन्तै बजेट व्यवस्था गर्न तयार रहेको बताइन्।
स्थानियहरूको भनाइमा, पुल पुनर्निर्माण नगरेमा विद्यालय जाने बालबालिका, बिरामी बोकेर अस्पताल लैजाने, गाईबस्तु चराउनेजस्ता दैनिक कार्यहरू झन् जोखिमपूर्ण हुनेछन्।

