जुम्ला । सिँजा गाउँपालिका–३ नराकोट बसपार्क नजिक सोमबार बिहान भएको ट्याक्टर दुर्घटनामा एक जना चालक घाइते भएका छन्।
प्रहरीका अनुसार कनकासुन्दरी गाउँपालिका–४ का ललजिंग बुढाले चलाइरहेका भे २ त २०६२ नम्बरको ट्याक्टर पार्किङ गर्ने क्रममा अचानक नियन्त्रण गुमेपछि दुर्घटना भएको हो। ट्याक्टरको इञ्जिनतर्फ मात्र पल्टिए पनि ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक बुढाको टाउको, बायाँ कान र हातमा चोट लागेको छ। उनलाई तत्कालै सिँजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको हो। चिकित्सकका अनुसार उनको अवस्था मध्यम भए पनि थप उपचार आवश्यक देखिएको छ।
स्थानीयले भने पार्किङ गर्ने ठाउँ साँघुरो र असुरक्षित रहेको भन्दै पटक–पटक यस्तो समस्या देखिँदै आएको बताएका छन्। उनीहरूको भनाइमा, बसपार्क वरपरको सडक र पार्किङ क्षेत्र सुरक्षित बनाउन सम्बन्धित निकायले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढिरहेको छ।
यसअघि पनि नराकोट आसपासका क्षेत्रमा साना–ठूला सवारी साधन दुर्घटनामा पर्ने घटना भएका छन्। तर, स्थायी समाधानका लागि पूर्वाधार सुधार र सवारी चालकलाई सचेत पार्ने कार्य अझै अपूरो रहेको स्थानीयवासीको गुनासो छ।

