कात्तिक २९ जुम्ला
नेकपा एमाले जुम्लाले संसद पुनःस्थापनाको मागसहित जुम्ला बजारदेखि नाग्मसम्म मोटरसाईकल ¥याली तथा शक्ति प्रदर्शन गरेको छ । सयौँ कार्यकर्ताको सहभागितामा भएको ¥याली तिला गाउँपालिका–३ कुडारीमा पुगेपछि कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेकपा एमाले जुम्लाका उपाध्यक्ष प्रेम बुढाले एमाले देशकै ठुलो राजनीतिक शक्ति भएकाले कसैको दबाबमा पार्टीको आन्दोलन नरोकिने बताउनु भयो ।
प्रतिगामि शक्तिका विरुद्ध एमाले सदैब तयार रहने उल्लेख गर्दै उहाँले आन्दोलनका नाममा विध्वंस मचाउन नपाइने चेतावनी पनि दिनुभयो । यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगीले नयाँ पुस्ताको आकर्षण एमालेतर्फ बढ्दै गएको बताउनु भयो । युवाहरूको सक्रिय सहभागिताले एमालेप्रति रहेको विश्वास झन प्रष्ट भएको उहाँको भनाइ छ ।

देशको विकास, समृद्धि र राष्ट्रियताको पक्षमा एमाले अग्रसर रहेको बताउँदै योगीले सूर्यमुखि चुनाब चिन्हमा गोलबन्द हुन आग्रह गर्नु भयो । विघटित संसद पुनःस्थापनाका लागि एमालेले सडक आन्दोलन बढाइरहेको उहाँले बताउनु भयो । योगीले एमाल ेबिना देशको राजनीतिक स्थायित्व सम्भव नहुने दाबी गर्नु भएको छ ।
उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा एमाले सुदृढ र प्रभावशाली ढंगले अघि बढिरहेको उल्लेख गर्दै एमाले बिना नेपाल र केपी ओली बिनाको एमाले असम्भव नहुने टिप्पणी गर्नुभयो । योगीका अनुसार देश र जनताको पक्षमा काम गर्ने एकमात्र प्रतिवद्ध पार्टी एमाले हो । उहाँले आन्दोलनका नाममा जे–पायो त्यही गर्न छुट नहुने बताउँदै राजनीतिक आन्दोलनहरू जिम्मेवारीपूर्ण र जनमुखी हुनुपर्नेमा जोड दिनुभयो । 

