जुम्ला । आधुनिक प्रविधिको तीव्र विस्तार र द्रुत सेवाप्रदान गर्ने मेसिनरी चक्कीको बढ्दो प्रचलनसँगै जुम्लाका परम्परागत पानीघट्ट धीरे–धीरे इतिहास बन्न थालेका छन्। दशकौँसम्म गाउँ–घरको पहिचानजस्तै रहेको यी पानीघट्ट अहिले थोरै मात्र देख्न पाइने अवस्था आएको छ।
एक समय गाउँका खोलानालामा पानीको आवाजसँगै घट्टको घरघराहटले छुट्टै वातावरण बनाउँथ्यो। प्रत्येक बस्तीमा कम्तीमा एक–दुई पानीघट्ट अवश्य हुन्थे—जहाँ मकै, गहुँ, कोदो, फापरदेखि चामलसम्म घरायसी दाम्मे काम हुन्थ्यो। तर, समयले मोड फेरिसकेको छ।
विजुलीबाट चल्ने मेसिन चक्कीको सहज पहुँच, छिटो सेवा र कम परिश्रमका कारण परम्परागत पानीघट्टको उपयोग झनै कम हुँदै गएको छ। “पहिला दिनभर मानिसै मानिसको भीड हुन्थ्यो। आजभोलि सातौँ दिनमा पनि कोही नआउने अवस्था छ,” एक पुराना पानीघट्ट सञ्चालकले दुखेसो सुनाए।
पानीको बहाव घट्नु, खोलानालाहरू सुक्दै जानु, जोगाउनुपर्ने मर्मतसम्भारको बढ्दो खर्च र आयस्रोत न्यून हुँदै गएपछि धेरै पानीघट्टहरू क्रमशः बन्द भइरहेका छन्। केही त जिर्ण अवस्थामा छाडिएका छन्, केहीको संरचना नै क्षतिग्रस्त भएको छ।
स्थानीय संस्कृति–परम्पराभित्र महत्वपूर्ण स्थान ओगटेका यी पानीघट्ट केवल दानापिँध्ने थलो मात्र होइन, गाउँको सामाजिक मिलनबिन्दु, आपसी मेलमिलाप र सामुदायिक ऐक्यताको प्रतीक समेत थिए। पुराना पुस्ताले यिनीसँग जोडिएका कयौँ स्मृतिहरू सुनाइरहेका छन्, तर नयाँ पुस्तालाइ पानीघट्ट कस्तो थियो भन्ने कल्पनाबाटै बुझ्नुपर्ने अवस्था बन्दैछ।

