पुस ५ जुम्ला
प्लान इन्टरनेशनल नेपालको सहयोगमा पेश नेपाल र क्याड नेपाल जुम्लाले सञ्चालन गर्दै आएका कार्यक्रमको अनुगमनपछि समीक्षा गरिएको छ । जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा अनुगमनका निष्कर्षबारे छलफल गरिएको हो । हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा सञ्चालन भएका कार्यक्रमको शुक्रबार अनुगमन गरी शनिबार जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेर समीक्षा गरिएको हो ।
हिमा र सिँजा गाउँपालिकामा पेश नेपाल जुम्ला तथा कनकासुन्दरी गाउँपालिकामा क्याड नेपाल जुम्लाले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सशक्त बालिका परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएका छन् । बैठकमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा क्षेत्रीले सिमान्तकृत बालबालिकाको क्षेत्रमा केन्द्रित भएर काम भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार जुम्लाका तीन स्थानीय तहका ४ हजार १ सय ८३ जना बालबालिकासँग प्रत्यक्ष जोडिएर परियोजना सञ्चालन गरिएको छ । शिक्षा, स्वास्थ्य र पोषणको अवस्था सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले प्लान इन्टरनेशनल नेपालको सहयोगमा पेश नेपाल र क्याड नेपाल जुम्लाले प्रभावकारी काम गरेको उल्लेख गर्नुभयो ।
आगामी दिनमा पनि परियोजनालाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो । विकास साझेदार निकायसँगको समन्वय र सहकार्यले जुम्लामा सञ्चालन हुने सचेतनामुलक कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने उहाँको भनाइ छ । यस्तै पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले प्लान इन्टरनेशनल नेपालको सहयोगमा हिमा र सिँजा क्षेत्रका विद्यालय तथा समुदायमा काम भइरहेको जानकारी दिनुभयो ।
हिमा गाउँपालिका–१ बड्कीस्थित कालिका माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिनुका साथै बसाइ व्यवस्थापनका सामग्री उपलब्ध गराइएको र छापामय कक्षा कोठा निर्माण गरिएको उहाँले बताउनुभयो । क्याड नेपाल जुम्लाका अध्यक्ष जयलक्ष्मी चौलागाईंले बालिकाको क्षमता विकास, बालविवाह न्यूनीकरण लगायतका क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो ।
अन्तरपुस्ता संवाद कार्यक्रमले समाजमा रहेका कुरीति न्युनीकरण गर्न सहयोग पुगेको उहाँको भनाइ छ । एक वर्षको अवधिमा परियोजनाले जुम्लामा ९ करोड ७१ लाख २० हजार ३ सय रुपैयाँ खर्च गरेको छ ।

