साउन २८ जुम्ला
सिमान्तकृत बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्न जुम्लाको तातोपानी गाउँपालिकामा किर्डाक नेपालले सहयात्रा तेस्रो परियोजना संचालन गरेको छ । सेभद चिल्ड्रेनको सहयोग, किर्डाक नेपाल जुम्लाको सहिजकरण, पालिकाको समन्वय र सहकार्यमा परियोजना संचालन भएको हो ।
तातोपानी गाउँपालिका भित्र रहेका ७ सय ८ जना जोखिममा बालबालिका मध्ये हालसम्म ५ सय ८० जना बालबालिकालाई सहयोग गरिएको र अब बाँकि ३ सय ७ जना बालबालिकालाई पनि सहयोग गर्ने तयारी रहेको किर्डाक नेपाल जुम्लाका शिक्षा परियोजना संयोजक ख्यामराज लामिछानेले बताउनु भयो ।
उहाँका अनुसार, जोखिममा रहेका बालबालिकाको लागि शसक्त रुपमा आवाज बुलन्द गर्न पालिका स्तरीय बालिका तथा समावेशि शिक्षा संजाल समेत गठन भएको बताउनु भयो । गाउँपालिका उपाध्यक्ष रेवति रावलको संयोजकत्वमा गठित समितिले बालिका तथा समावेशि शिक्षाका विषयमा काम गर्दै आएको उहाँको भनाइ छ ।
जोखिमा रहेका बालबालिकाको पहिचान, तथ्याङ्क संकलन, सहयोग तथा राहत र विद्यालयसम्म ल्याउने काम भएको छ । पालिका भरी विद्यालय बाहिर रहेका ६ जना मध्ये सबैलाई विद्यालय हातासम्म ल्याईएको छ । संजालका सदस्यहरुलाई बालिका तथा समावेशि शिक्षाका विषयमा जानकारी गराउन साउन २७ र २८ गते क्षमता अभिवृद्धि तालिम समेत संचालन गरिएको छ ।
तालिम मार्फत बालिका तथा समावेशि शिक्षा संजालको काम, कर्तव्य र अधिकारका बारेमा स्पष्ट पार्दै आगामी योजना समेत तयार पारिएको किर्डाक नेपाल जुम्लाकै शैक्षणीक स्रोत व्यक्ति मदनराज भट्टले बताउनु भयो । उहाँले तातोपानी गाउँपालिकामा रहेका माध्यमिक तहमा बालिका तथा समावेशि शिक्षा संजाल गठन गर्दै सिमान्तकृत तथा विद्यालय पहुँच बाहिर रहेकाहरुलाई विद्यालय हाताभित्र ल्याउने काम गरिने उल्लेख गर्नुभयो ।
बालिका तथा समावेशि शिक्षा संजालले विशेष गरि बालिका शिक्षामा केन्द्रित रहेर काम गर्ने उहाँको भनाइ छ । यस्तै, तातोपानी गाउँपालिका निमिक्त प्रमुख प्रशासकीय अधिकृत अंगराज डाँगीले पालिका भित्रका सबै बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउनु पर्ने बताउनु भयो । बालिका शिक्षित भएमा परिवार शिक्षित हुने उहाँको भनाइ छ ।
सार्वजनिक शिक्षा आर्जनबाट कोहि पनि बालबालिका टाठा रहन नहुने उहाँको भनाइ छ । यस्तै तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाँईले शैक्षिक अवस्था सुधार गर्दै स्वास्थ्य शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुराउन समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
शिक्षा क्षेत्रमा बालिकाको पहुँच बृद्वि गर्न तथा दलित, विपन्न र सिमान्तकृत समुदायका बालिकालाई शैक्षिक क्षेत्रमा प्राथमिकता दिने उद्देश्यले सहयात्रा तेस्रो परियोजना मार्फत ‘बालिका तथा समावेशी शिक्षा संजाल’ तातोपानीमा गठन भएको छ । कार्यक्रममा तातोपानीका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यपक र पत्रकारहरुको सहभागिता रहेको थियो ।

