माघ ८ जुम्ला
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जुम्लाका मतदाता भोट परिवर्तन गर्ने पक्षमा देखिएका छन् । एक पटक मतदान गरि सकेकालाई भन्दा नयाँ पात्रलाई भोट दिने पक्षमा मतदाता देखिएका हुन् । जुम्लामा यस पटकको निर्वाचनमा दुई जना बाहेक सबै उम्मेदवार नयाँ अनुहारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नरेश भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) बाहेक अन्य सबै उम्मेदवार पहिलो पटक प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली कांग्रेसबाट दीप बहादुर शाही, नेकपा एमालेबाट शान्तिलाल महत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट विर्ष रावत, नेकपा माओवादी केन्द्रबाट विर्ष बहादुर शाही (प्रभाजित) तथा नेपाल जनता पार्टीबाट रनिल विक्रम शाही नयाँ उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रि भएको छ । यसैगरी, तातोपानी गाउँपालिका–३ लिताकोटका भक्त बहादुर रावलले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा उहाँ पनि नयाँ उम्मेदवारकै रुपमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । जुम्लाको निर्वाचनको इतिहास हेर्दा एक पटक निर्वाचन जितिसकेको उम्मेदवारलाई पुनः दोहो¥याएर जिताएको उदाहरण निकै कम छ । यही कारणले गर्दा यस पटक पनि मतदाताहरु नयाँ अनुहारप्रति आकर्षित भएको देखिन्छ । विगतमा निर्वाचित प्रतिनिधिहरुले जुम्लाको विकास, रोजगारी, पूर्वाधार तथा आधारभुत सेवामा अपेक्षित सुधार गर्न नसकेको गुनासो सर्वसाधारणले व्यक्त गर्दै आएका छन् ।
सिँजा गाउँपालिकाका मतदाता रामकृष्ण बुढाले यस पटक पुराना भन्दा नयाँ उम्मेदवारलाई मत दिने मनस्थितिमा रहेको बताउनु भयो । उहाँका अनुसार पटक–पटक निर्वाचित प्रतिनिधिहरुले जुम्लाको विकासमा ठोस र दिगो परिवर्तन ल्याउन नसकेको अनुभवले नयाँ पात्रको खोजी गर्न मतदाता बाध्य भएका हुन् ।
हामीले पुराना पात्रलाई धेरै मौका दियौं, तर जुम्लाको समग्र विकासमा खासै फरक देखिएन, उहाँले भन्नुभयो । यस्तै, सिँजा गाउँपालिका–६ रुघा गाउँका पदम बुढाले पनि नयाँ उम्मेदवारप्रति नै आफ्नो झुकाव रहेको बताउनुभयो । जुम्लाबाट निर्वाचित भइसकेका नेताहरुले जिल्लाको शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीको क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको भन्दै यस पटक नयाँ सोच र नयाँ ऊर्जाका उम्मेदवारलाई अवसर दिनुपर्ने उहाँको भनाइ छ ।
स्थानीय तहमा भइरहेका चुनावी छलफल, चिया पसलदेखि सार्वजनिक भेला तथा सामाजिक सञ्जालसम्म मतदाताको चासो नयाँ उम्मेदवारतर्फ केन्द्रित देखिन्छ । कतिपय मतदाताले नयाँ उम्मेदवारले पुराना कमजोरी दोहो¥याउने हो कि भन्ने चिन्ता व्यक्त गरे पनि धेरैले परिवर्तनको अपेक्षासहित नयाँ पात्रलाई अवसर दिनुपर्ने धारणा राखेका छन् ।
यस पटकको निर्वाचनमा जुम्लाका मतदाताले कसलाई विश्वास गर्नेछन भन्ने चासो बढेको छ । नयाँ अनुहारको खोजीमा रहेका मतदाताको मनोविज्ञानले जुम्लाको राजनीतिक समीकरण कता मोडिन्छ भन्ने विषयलाई आगामी निर्वाचन परिणामले स्पष्ट पार्ने देखिन्छ ।

